काठमाडौँ, २९ फागुन । निर्धन विकास बचत तथा ऋण सहकारी संस्था लि, शिक्षा उपसमितिद्वारा फागुन शनिबार ‘सहकारीको सुसञ्चालनमा सदस्यको भूमिका’ विषयको अन्तक्र्रियात्मक कार्यशाला आयोजना गरिएको छ ।
कार्यक्रममा डिभिजन सहकारी कार्यालय, काठमाडौँका प्रमुख आनन्द सारुले सहकारीमा सदस्य प्रभावकारी भइ दिएन भने संस्था छिट्टै धराशयी हुन्छ, त्यसैले सहकारीमा नियन्त्रण प्रणाली विकसित गरिनुपर्ने बताउँदै सदस्यको लगानी सुरक्षित भए नभएको, आन्तरिक लेखा परीक्षण ठीकसँग भए नभएको जस्ता पक्षमा निगरानी आवश्यक हुनेमा जोड दिए ।
उनले भने–“संस्था डुब्यो भने सारा सदस्यको लगानी डुब्छ भन्ने सकारात्मक सोच राखेर संस्थाको हितमा मात्र निःस्वार्थ ढङ्गले काम गरिनुपर्छ । त्यसै गरी संस्थाले नेतृत्व विकासको कार्य गर्नु आवश्यक हुन्छ । संस्थाको बारेमा हलुका टिप्पणी कहीँ कतै गरिनु हुन्न, नेतृत्व विकास गर्दै हस्तान्तरण गर्नु पर्छ । संस्था सुसञ्चालनको कार्यविधि निर्धारण गर्नु पर्छ र त्यसै अनुसार सञ्चालित हुनु पर्छ ।”
स्वावलम्बन विकास केन्द्रका निर्देशक तथा वरिष्ठ साहित्यकार राम विनयले कुनै पनि संस्थाको समुन्नति त्यसै संस्थाका सदस्यको क्रियाशीलताले र सकारात्मक सोचले मात्र सम्भव हुने अनुभव सुनाए ।
योगगुरु एवम् सामाजिक रूपान्तरण अभियानका साहित्यकार गोपालकुमार मैनालीले संस्थाले हाल गरिरहेका कल्याणकारी कार्यका साथै सदस्यका बालबालिकाको जन्मदिनमा संस्थाले सम्झिने र ज्येष्ठ नागरिकलाई सम्मान गर्ने जस्ता कार्य सुझाव दिएको संस्थाका सचिव रमेश पोखरेलले जानकारी दिए ।
संस्थाका सदस्यका प्रवेशिका परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छोराछोरीलाई वर्षैपिच्छे सम्मान तथा पुरस्कार प्रदान गर्ने र असहाय बालबालिकालाई स्तरीय शिक्षा प्रदान गर्ने कार्यमा संस्थाले योगदान गरिरहेको छ । यसै वर्षदेखि संस्थाका सदस्यका अभिभावकको देहावसान हुँदा रु १५ हजार सहयोग गर्ने जस्ता काम पनि सुरु भएको छ ।
रासस
प्रकाशित मिति: २९ फाल्गुन २०७३, आईतवार १४:१८