सुर्खेत, २९ फागुन । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले स्वदेशी उद्योगहरुलाई प्रवद्र्धन गर्न जोड दिएका छन् । स्वदेशी उद्योगले मात्रै मुलुकको विकास हुने भएकोले अव विदेशी भन्दा स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न उनले सुझाव दिए ।
सुर्खेत उद्योग बाणिज्य संघको ३३ औं वार्षिक साधारणभामा बोल्दै उनले यस क्षेत्रका साना, मझ्यौला, लघु घरेलु उद्योगहरुलाई पनि समेट्दै समग्र औद्योगिक क्षेत्रको रुपमा विकास गरिनुपर्ने सुझाव दिए ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासक बेगेन्द्रराज शर्मा पौडेलले ६ नं. प्रदेशलाई सवल बनाउन यही प्रदेशका उद्योग व्यवसायीहरुको प्रमुख हात रहने बताए । उनले सरकारले उद्योगी व्यापारीहरुले चाहेको वातावरण बनाइदिने दावी गर्दै लगानी गर्न आउन अपिलसमेत गरे ।
नेपाल उद्योग बाणिज्य महासंघका वस्तुगतु उपाध्यक्ष दिनेश श्रेष्ठले पनि सरकारको उदासिनताले उद्योगी व्यवसायीहरुले लगानी भित्र्याउन नसकेको बताए । राजनीतिक स्थायित्वपछि मात्रै लगानी भित्रिने उनको भनाइ छ ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निरक केसी, मप क्षेत्रीय उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले अहिले प्रदेश नं. ६ कमजोर भएका कारण राज्यले लगानी गर्नुपर्ने र पछि यही प्रदेशले राज्यलाई समेत पाल्ने जिकिर गरे ।
सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले सुर्खेतलाई शैक्षिक, प्रशासनिक मात्र नभइ औद्योगिक क्षेत्रको रुपमा पनि अगाढि बढाइएको जानकारी दिए । उनले सुर्खेतमा लगानी भित्र्याउनका लागि सुर्खेत लगानी बर्ष घोषणा गरिएको बताउँदै यस अनुपातमा लगानी पनि क्रमशः भित्रिरहेको दावी गरे ।
मध्यमाञ्चल उद्योग बाणिज्य संघका अध्यक्ष अरुण सुमार्गीलगायतले बोलेको साधारणसभामा सुर्खेत उद्योग बाणिज्य संघका महासचिव गोपालकृष्ण गिरीले प्रगति र कोषाध्यक्ष दिपेन्द ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
आर्थिक पत्रकारिता पुरस्कार बसेललाई
यसैवीच सुर्खेत उद्योग बाणिज्य संघको ३३ औं बार्षिक साधारणसभाको अवसरमा शनिवार सुर्खेतपत्र दैनिकका सम्पादक एवं गोरखापत्र दैनिकका सुर्खेत समाचारदाता ललित बसेललाई आर्थिक पत्रकारिता पुरस्कार २०७३ प्रदान गरिएको छ । ११ हजार १११ रुपैयाँ राशी, सम्मानपत्र र दोसल्लासहिको सो पुरस्कार नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल, सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी र प्रकाशन समितिका संयोजक लक्ष्मण कँडेलले समाचारदाता बसेललाई प्रदान गरेका हुन् ।
जिल्लाको समग्र आर्थिक क्षेत्रलाई पत्रकारिताका माध्यमबाट उजागर पुर्याएको भन्दै बसेललाई २०७३ सालको आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको संघले जनाएको छ ।
यस्तै संघले बावियाचौरका डम्बरबहादुर शाहीलाई पलायन व्यवसायी राहत, इत्राम माविका दृष्टिविहीन छात्रछात्राका लागि समीक्षा आचार्य छात्रवृत्ति पुरस्कार, मध्यपश्चिम फिटनेस सेन्टरका संचालक प्रमोद हमाललाई सुर्खेतमा नौलो व्यवसायीका रुपमा सम्मान गरेको छ ।
यसैगरी हार्डवेयर समिति, फेन्सी तथा रेडिमेड बस्तुगत समिति, काँचो कपडा बस्तुगत समिति र कम्प्यूटर एशोसियशन बस्तुगत समितिलाई पनि सर्वाधिक सक्रिय बस्तुगत समितिका रुपमा सम्मान गरिएको छ । राजु पाण्डे, यज्ञ शर्मा र खगेन्द्र भट्टराईलाई उत्कृष्ट व्यवसायी, रिदेश केसीलाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरिएको छ ।
प्रकाशित मिति: २९ फाल्गुन २०७३, आईतवार ०९:५६