काठमाडौ २८ फागुन । कप्तान पारस खड्काको खेल्ने सम्भावना न्यून भए पनि नेपालले शनिबार आइसिसी विश्व क्रिकेट लिग (डब्लुसिएल) अन्तर्गत केन्याविरुद्ध प्रतिस्पर्धा गर्दै छ । पछिल्ला आठ वर्ष नेपालले खेलेका हरेक अन्तर्राष्ट्रिय खेलमा महत्वपूर्ण भूमिका निर्वाह गरेका खड्काको यसै महिना पेटको शल्यक्रिया भएको थियो । जसका कारण उनी फिट छैनन् । कप्तान खड्का मैदानमा उत्रने सम्भावना कम भए पनि पाँचपटक एकदिवसीय विश्वकप खेलेको केन्याविरुद्ध नेपालले कडा चुनौती दिने मुख्य प्रशिक्षक जगत टमाटाले नयाँ पत्रिकालाई बताएका छन् ।
नेपालको लक्ष्य जित
लिगको चार चरणका आठमध्ये तीन खेलमा नेपालले जित निकालेको छ । नेपालले केन्याविरुद्धको पाँचाँै चरणको खेलमा जित निकाल्दै पाँचौँ स्थानमा उक्नले योजना बनाएको छ । ‘आगामी बाटो सहज बनाउन हामीले केन्याविरुद्धका दुवै खेलमा जित निकाल्ने लक्ष्य बनाएका छौँ,’ प्रशिक्षक टमाटाले भने, ‘हामीले साढे एक महिना राम्रो तयारी गरेका छौँ ।’ कप्तान खड्काले केन्या राम्रो टोली भएकाले दबाब झेल्न सक्ने टोली विजयी हुने बताए । ‘दबाब बहन गर्न सक्ने टोलीले शनिबार जित निकाल्न सक्छ,’ खड्काले भने ।
पाँचौँ चरणको खेल नेपाललाई मात्र नभएर केन्याका लागि पनि महत्वपूर्ण छ । लिगका दुई चरण खेल बाँकी रहेको अवस्थामा जित हात पार्ने टोली शीर्ष चारभित्र पर्ने सम्भावना बलियो हुनेछ । डब्लुसिएलमा नेपाल छैटौँ तथा केन्या पाँचाैँ स्थानमा छन् । शीर्ष चारमा पर्ने टोलीले सन् २०१९ को एकदिवसीय विश्वकप छनोट खेल्ने अवसर पाउनेछन् । पाँचौँदेखि आठौँ स्थानमा रहने चार टोली डिभिजन–२ मा झर्नेछन् ।
केन्याको बलिङ राम्रो
नेपालका लागि केन्याको बलिङ बाधक बन्न सक्छ । विश्वकप र एकदिवसीयमा थुपै्र अनुभव बटुलेको केन्याविरुद्धको खेल सहज नहुने नेपालका प्रशिक्षक टमाटाले बताए । ‘केन्या राम्रो टोली हो, उसको बलिङ पक्ष राम्रो छ,’ टमाटाले भने । केन्याका प्रशिक्षक थोमस ओडोयोले पनि आफ्नो टोलीको बलियो पक्ष बलिङ भएको दाबी गरेका छन् । ‘हाम्रो बलियो पक्ष बलिङ हो, हामीले भारतमा गरेको अभ्यासबाट ब्याटिङमा सुधार गरेका छौँ, हामी नेपालविरुद्ध प्रतिस्पर्धात्मक खेल खेल्नेछौँ,’ ओडोयोले भने । केन्याले भारतमा चारमध्ये तीन अभ्यास खेलमा जित निकालेको थियो ।
नयाँ ओपनिङ जोडी
नेपालले केन्याविरुद्धको खेलमा नयाँ ओपनिङ जोडी खेलाउँदै छ । उपकप्तान ज्ञानेन्द्र मल्ल र सुनील धमलाले ओपनिङ गर्ने प्रशिक्षक टमाटाले बताए । ‘केन्याविरुद्ध हामीले नयाँ ओपनिङ जोडीको रूपमा ज्ञानेन्द्र र सुनीललाई खेलाउँछौँ,’ उनले भने । टमाटाले साढे एक महिनाको अभ्यास ब्याटिङ सुधार्नमा केन्द्रित गरेको बताए । उनका अनुसार नेपालले नयाँ अलराउन्डरलाई खेलाउने र तल्लो मिडल अर्डरको ब्याटिङलाई महŒव दिएको छ । ‘टोलीमा अलराउन्डरको रूपमा मेहबुब आलम, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले स्थान बनाएका छन्, तीनमध्ये दुईले प्लेइङ–११ मा स्थान बनाउनेछन्,’ टमाटाले भने, ‘तल्लो क्रमका ब्याट्सम्यानबाट पनि रनको आशा गरेका छौँ ।’
केन्यासँग पाँचाैँ भिडन्त
नेपालले केन्याविरुद्ध पाँचौँपटक प्रतिस्पर्धा गर्न लागेको हो । दुई टोलीबीच एकदिवसीय र टी–२० मा समान दुईपटक प्रतिस्पर्धा भएका छन् । केन्याले एकदिवसीय क्रिकेटमा दुवै खेलमा नेपाललाई हराएको छ । टी–२० का दुई खेलमा भने नेपालले जित हात पारेको छ । सन् २०१४ मा नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले केन्यासँग खेलेका दुवै खेल गुमायो । नेपाल र केन्याबीच सन् २०१२ मा युएईमा टी–२० छनोटमा प्रतिस्पर्धा भएको थियो । सो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो । सन् २०१३ मा युएईमै भएको टी–२० विश्वकप छनोटमा नेपालले ६ विकेटको जित निकालेको थियो । सनसनीपूर्ण जित निकाल्ने क्रममा नेपालले केन्याले प्रस्तुत गरेको १ सय ८७ रनको लक्ष्य पार गरेको थियो ।
प्रकाशित मिति: २८ फाल्गुन २०७३, शनिबार ०७:००