काठमाडौँ, २७ फागुन । व्यवस्थापिका–संसद्को आजको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि ‘निर्वाचन क्षेत्र निर्धारण विधेयक, २०७३’ विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन ।
सो प्रस्ताव पारित गर्न हाल कायम पाँच सय ९५ को एक चौथाइ १४९ हुनुपर्नेमा १२५ सदस्य मात्र उपस्थित भएकाले संसद्का बाँकी कार्यसूची हटाइएको घोषणा सभामुख ओनसरी घर्तीले गर्दै बैठक स्थगन गरीन् । सत्ता पक्षकै सांसदले पातलो उपस्थिति जनाएपछि विधेयकको थप प्रक्रिया रोकिएको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का कतिपय सांसद हेटौँडाबाट पुनः सुरु भएको मेची–महाकाली अभियानमा लागेकाले अनुपस्थित भएको जनाइएको छ । साँझ एकाएक देखिएको खराब मौसम र हल्का वर्षाका कारण पनि सांसद्हरु पहिलो बैठकपछि निस्केका थिए । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदले पहिलो बैठक नै बहिष्कार गरेका थिए । संसद्को अर्काे बैठक आगामी चैत १ गते अपराह्न १ बजे बस्ने भएकाले सो अवधियता विधेयक निर्णयार्थ प्रस्तुत हुन ।
निर्वाचनका लागि सो विधेयकको महत्व रहेकाले संसद् सचिवालयले प्राथमिकता दिई आजको दोस्रो बैठक राखी सैद्धान्तिक छलफल पूरा गरे पनि विधेयक सम्बन्धित समितिमा जाने बाटो खुल्न सकेन । तराई–मधेस केन्द्रित दललाई सहमतिमा ल्याउन सो विधेयक लामो समयदेखि संसद्मा प्रस्तुत नगरिए पनि प्रधानमन्त्रीको आग्रहमा आज संसद् बैठकमा प्रस्तुत भएको थियो । संसद्मा आजको पहिलो बैठकमा प्रस्तुत भएको सो विधेयकमा साँझको बैठकमा सैद्धान्तिक छलफल गरिएको थियो ।
विधेयकबारे सांसदहरुबाट भएको छलफलपछि जवाफ दिँदै प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले सहमतिका लागि सो विधेयक लामो समय रोकिए पनि संविधान कार्यान्वयन र निर्वाचन सम्पन्न गर्न यसलाई अघि बढाउन आवश्यक रहेको बताए । उनले सबै गम्भीर भएरमा संविधान कार्यान्वयन र तीनै तहको निर्वाचन गराउन कसैले रोक्न नसक्ने स्पष्ट गरे ।
सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदले सरकारले समयमा निर्वाचन सम्पन्न गराउन सहयोग मिल्ने गरी विधेयक ल्याएकामा धन्यवाद दिँदै जनसङ्ख्या र भूगोलको समानुपातिक मापदण्डका आधारमा क्षेत्र निर्धारण गर्नुपर्ने सुझाव दिए । उनीहरुले तराई–मधेसका जिल्लामा उत्पन्न विवादलाई पनि समेट्ने गरी विधेयक ल्याउन माग गरे । सांसद मीना पुन, कमला पन्त, योगेन्द्र घिसिङलगायतले छलफलमा भाग लिएका थिए ।
सो प्रस्ताव पारितका लागि गणपूरक सङ्ख्या अपुग हुने भनी प्रेम सुवालले प्रश्न उठाएपछि सभामुखले तीन मिनेट घन्टी बजाई सङ्ख्या यकिन गराउन निर्देशन दिएका थिए । संसद्मा कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न हाल कायम रहेकाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । संसद्को अर्काे बैठक आगामी चैत १ गते अपराह्न १ बजे बस्नेछ । रासस
प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार १८:२३