सुर्खेत, २५ फागुन । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना एवं सुर्खेत जिल्ला फुटबल संघको समन्वयमा आज (बुधबार) देखि वीरेन्द्रनगरमा एन्फा रेफ्री कोर्स शुरु भएको छ ।
फागुन २९ गतेसम्म चल्ने रेफ्री प्रशिक्षणमा विभिन्न ७ जिल्लाका गरी ३५ जनाको सहभागिता रहेको छ।
प्रशिक्षणको उदघाटन गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवरले विकेन्द्रीकरणको सिद्धान्त अनुसार एन्फाले आफ्ना कार्यक्रमहरुलाई जिल्ला जिल्लासम्म पुर्याउन थालेको बताए । ‘अब संघीयता र विकेन्द्रीकरणको सिद्धान्त अनुसार एन्फाले आप्mना कार्यक्रम र गतिविधि गर्नेछ ।’ उनले भने–‘रेफ्री कोर्स त्यसैको एउटा अभ्यास हो ।’
अब खेलाडी मात्र उत्पादन गर्ने नभई फुटबलसँग सम्बन्धित दक्ष प्राविधिक जनशक्ति पनि उत्पादनलाई पनि प्राथमिकता दिइएको उनको भनाई छ । पाँच वटै विकास क्षेत्रमा रेफ्री कोर्संगै अब प्रशिक्षक प्रशिक्षणपनि आयोजना गरिने वरिष्ठ उपाध्यक्ष कुँवरले जानकारी दिए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले आठौं राष्ट्रिय खेलकुद गर्ने जिम्मेवारी मध्यपश्चिमको भएकाले राष्ट्रिय खेलकुद अन्तर्गतको फुटबल प्रतियोगिता सुर्खेतमा गर्ने गरी तयारी गर्न एन्फालाई आग्रह गरे ।
सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष गोवद्र्धन खड्काले सुर्खेतमा फुटटबलप्रतिको लगाव र आकर्षण अत्यन्त धेरै भएकाले त्यसै अनुसारको पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यक्ता औल्याए ।
उपाध्यक्ष जनक रावलले फुटबलको विकासमा पछाडि परेको सुर्खेतलगायत पश्चिमी जिल्लाहरुलाई प्राथमिकतामा राखेर गतिविधि गर्नुपर्नेमा जोड दिए ।
अखिल नेपाल फुटटबल संघको आयोजनामा सुर्खेत जिल्लामा एन्फाको पहिलो कार्यक्रमका रुपमा रेफ्री कोर्सको आयोजना गरिएको संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए ।
प्रकाशित मिति: २५ फाल्गुन २०७३, बुधबार १७:१०