काठमाडौं । हिजो (फागुन २३ सोमबार) सप्तरीमा भएको घटनाले देश पुनः एकपटक तरंगित भएको छ । नहुनु पर्ने भयो । बित्थामै ४ जनाले ज्यान गुमाए । ज्यान गुमाउनेका परिवारजनमा के पीडा भएको छ यो न त मोर्चाका लिडरहरूलाई थाहा छ न त एमालेकै । बरु मृतकहरूको संवेदनालाई धज्जी उडाउँदै केहीले सामाजिक सञ्जालमा विभत्स (सडकमै टाउकोभन्दा ठूलो गिदीको राश देखिएको) तस्बिरलाई भाइरल बनाइँदै छ ।
फाइल फाेटाे
चुनाव लाग्यो एमालेलाई । थाल्यो मेची–महाकाली जागरण अभियान । अभियान सप्तरीको राजविराजमा रहेको औद्योगिक क्षेत्रमा आयोजना गरिएको सभा बिथोल्न पुगेका मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली प्रहार गर्यो । प्रतिकारमा उभिएको मधेसवादी दल संलग्न रहेको मोर्चासँग झडपको स्थिति सिर्जना भयो । नेताहरू त सुरक्षित क्षेत्रमै छन् । मैदानमा ओर्लने उनीहरूको नियत कहाँ छ र ? मैदानमा त कार्यकर्तालाई फोस्रा आश्वासन दिएपछि पुगिहाल्छन् । कार्यकर्तालाई पनि त नेता बन्ने ध्याउन्न जुन छ । यहाँ त दोषी कसलाई मान्ने । दुवै गंगामा नुहाए झैं पवित्र छन् (उनीहरूकै भनाइमा) । एमाले भन्छ, ‘हाम्रो शान्तिपूर्ण अभियानमा सरकार र मोर्चाको अवरोध आयो ।’ मोर्चा भन्छ, ‘संविधान संशोधनलगायत मधेसीका माग पूरा नभएसम्म तराईमा कुनै कार्यक्रम गर्न कसैले पाउँदैन । यसको प्रतिकार गर्नुपर्छ ।’ यस्तै मोर्चाको दाबी छ– ‘एमालेकै निर्देशनबमोजिम सरकारले गोली चलायो ।’
आखिर मर्ने त मरेर गइहाल्यो । जुन कुनै नेपालीलाई चाह थिएन । तर, अब हुने गतिविधिले कुन मोड लिने हो यो हेर्न बाँकी छ । सबै पक्ष संयम हुन जरुरी देखिन्छ । कसैको मृत्युले कसैलाई फाइदा भने पु¥याउँदैन । सबै संयमले अघि बढ्नुपर्ने जरुरी देखिन्छ । आज (मंगलबार फागुन २४) गते मात्र प्रधानमन्त्री पुष्पकमल दाहालले सप्तरीका प्रजिअ उदयप्रसाद तिमिल्सिेना र एसपी दिवेश लोहनीलाई तत्काल काठमाडौं बोलाउन निर्देशन दिएका छन् । मंगलबार बिहान प्रधानमान्त्री दाहालले गृहमन्त्री विमलेन्द्र निधिलाई फोन गरेर यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले घटनाको सत्यतथ्य बुझ्नका लागि जिल्लामा सुरक्षा संयन्त्र सम्हालेर बसेका प्रजिअ र एसपीलाई बोलाउनुलाई समाधान मान्न सकिने अवस्था भने छैन । एमालेको मेची–महाकाली अभियानको विरोध गर्ने क्रममा मोर्चाका कार्यकर्ता विरोधमा उभिएका थिए । प्रहरीले रोकेको थियो । सोही क्रममा झडप भयो अनि ४ जनाको मृत्यु पनि भयो । गोली लागेका अझै केही सिकिस्त पनि छन् । यसले पनि मृतकको संख्या बढ्न सक्ने संकेत देखिन्छ । हामी चाहन्छौं– उनीहरूको उपचार राम्रोसँग होस् अनि सकुशल घर फर्किउन् । घाइतेहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत अस्पतालहरूमा उपचार भइरहेको छ ।
मोर्चा र एमालेबीच अब वाकयुद्ध चल्ने निश्चित झैं बनेको छ । दुवै साँढेको अवस्थामा छन्– कसैले कसैको अस्तित्व स्विकार्न नसक्ने अवस्थाका । झडपअघि मोर्चाका कार्यकर्ताले एमालेको झन्डासहित र्यालीमा आएको एक मोटरसाइकलमाथि आगजनी पनि गरेका थिए । एमाले नेता–कार्यकर्ता चढेको गाडीमाथि ढुंगामुढासमेत गरिएको एमालेको दाबी छ ।
दुई दिन बन्दको घोषणा
सोमबारको घटनालाई लिएर मोर्चाका कार्यकर्ताले २ दिन (मंगलबार र बुधबार) धनुषा बन्दको घोषणासमेत गरेका छन् । यसबाट पनि जनजीवन नै प्रभावित हुने हो । जनताले पनि सास्ती खेप्नुपर्ने हो । ती जनता भनेकै नेपाली हुन् । दुःख नेपालीले नै पाउने हुन् । सास्ती पनि नेपालीले नै । आखिर केका लागि ? प्रश्न टड्कारो छ ।
तीन दिन अभियान स्थगित
यसैबीच एमालेले पनि सोमबारको घटनापछि आफ्नो अभियानलाई तीन दिन स्थगित गरेको छ । स्थितिको संवेदनशीललाई ध्यानमा राख्दै अभियान ३ दिनका लागि स्थगित गरेको एमालेले जनाएको छ ।
बन्द र स्थगितले पाउला निकास ?
मोर्चाले बन्द गर्ने, एमालेले स्थगित गर्ने । मृत्युको पूर्ताल यसैबाट होला त ? कदापि हुन सक्दैन । मृत्यु भएका परिवारजनप्रति मोर्चा, एमाले तथा राज्यको तर्फबाट सहानुभूति मात्रै भएर पुग्दैन । मृतकका परिवारजनले २ छाक खाना राम्रोसँग पाउनुपर्ने व्यवस्था तथा उनीहरूका बालबच्चा छन् भने तिनीहरूको शिक्षामा पनि ध्यान दिन आवश्यक देखिन्छ ।
निष्कर्ष:
जनताका नाममा शपथ लिन्छन् । हरेक कुरा जनतामै समर्पित ठान्छन् । तर, काम भने आफू अनुकूल । राजनीतिक दलहरु राज्यमाथि जातीय, क्षेत्रीय द्वेष फैलाएर शासन गरुँ भन्ने भावनाबाट प्रेरित भएको देख्न सकिन्छ । राजनीतिक स्वच्छ भएन भने जतलाई सास्ती होइन मस्ती चाहिन्छ । अहिलेको अवाश्यकता पनि यही नै हो । तसर्थ जनतालाई आपसमा भिडाएर शासनतर्फ उन्मुख बन्नुभन्दा सर्व हितायः तर्फ अग्रसर हुनुपर्छ । केटौलेपन नभई परिपक्व व्यवहार देखाउन आवश्यक छ । सप्तरी घटनाको दोषी को हो ? किन अनाहकमै सर्वसाधारणले ज्यान गुमाउनुपर्यो । अब पुनः यस्तो घटना नदोहोरियोस् भन्नका लागि के गर्ने भन्नेतर्फ सोच्नु जरुरी छ ।
प्रकाशित मिति: २४ फाल्गुन २०७३, मंगलवार ११:२५