पोखरा, २३ फागुन । कास्कीको पर्यटकीयस्थल पुम्दीकोटमा विशाल महादेव मूर्ति र विभिन्न संरचना निर्माण गर्ने उद्देश्यका साथ यही फागुन ३ गतेदेखि १३ गतेसम्म सञ्चालित महाशिव पुराणमा रु १० करोडभन्दा बढी सहयोग प्राप्त भएको छ ।
महायज्ञको आयव्यय विवरण सार्वजनिक गर्न आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा महायज्ञ मूल आयोजक समितिका संयोजक चन्द्रकान्त बरालले महायज्ञमा कुल रु १० करोड १२ लाख ४९ हजार ७६३ सहयोग प्राप्त भएको जानकारी दिए ।
उनका अनुसार पर्यटन प्रवद्र्धनका लागि पुम्दीकोट विशाल महादेवको मूर्ति निर्माण गर्ने अभियानअन्तर्गत मूर्तिका साथै १०८ शिवलिङ्गसहित गणेशद्वारा परिक्रमा गराई धार्मिक आस्थालाई अत्याधुनिक प्रविधियुक्त नमुना बनाइने सोच राखिएको छ ।
उक्त परिसरमा ध्यान केन्द्र, शिव महात्म्य प्रदर्शनसहित धार्मिक पुस्तकालय निर्माण, पितृ स्मृति पार्क निर्माणलगायतका काम अघि बढाइने उनले जानकारी दिए ।
महायज्ञको पहिलो दिनमा नै रुङ्गटा बेलफेयर सोसाइटीका अध्यक्ष समेत रहेका प्रतिष्ठित समाजसेवी एवम् उद्यमी मुरलीधर रुङ्गटाबाट रु ५० लाख दान सहयोग गरेको जानकारी दिँदै उनले विभिन्न समाजसेवी, राजनीतिक व्यक्तित्व, सर्वसाधारण सबैको सकारात्मक सोच र सहयोगबाट यतिको सहयोग जुटाउन सम्भव भएको बताए ।
महायज्ञमा संयोजक बरालको परिवारबाट विशिष्ट चन्दादाताका रुपमा रु एक करोड ११ हजार १०८ सहयोग प्राप्त भएको थियो ।
त्यस्तै रु २५ लाख आर्थिक सहयोग गर्नेमा स्व दुर्गादत्त बरालको स्मृतिमा उहाँको परिवार, समाजसेवी लिलाभक्त आचार्य, स्व कृष्णबहादुर गुरुङको स्मृतिमा उहाँका श्रीमती तथा छोरा, पर्यटन व्यवसायी हरिप्रसाद पौडेल, स्व टीकाराम बरालको स्मृतिमा छोरा नरनाथ र छत्रनाथका साथै मनकामना केबुलकारका सञ्चालक राजेशबाबु श्रेष्ठ रहेको उनले जानकारी दिए ।
सङ्कलित सहयोग रकममध्ये महायज्ञको समग्र व्यवस्थापनमा रु ७१ लाख ७७ हजार ९६८ खर्च भएको जानकारी दिँदै महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष मातृकाप्रसाद बरालले सबै खर्च कटाएर कुल रु नौ करोड ४० लाख ७१ हजार ७९५ बचत भएको बताए । रासस
प्रकाशित मिति: २३ फाल्गुन २०७३, सोमबार ०७:५८