विराटनगर, २२ फागुन । प्रधानमन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थीलाई देश, जनता र आफ्नो भविष्यको निम्ति जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरेका छन् । आज सो विश्वविद्यालयद्वारा आयोजित समारोहमा आठ हजार ७६४ उपाधि प्राप्त गरेका विद्यार्थीलाई दीक्षित गरेका छन् ।
सोमध्ये कला, शिक्षाशास्त्र, कानुन, व्यवस्थापन, चिकित्साशास्त्र र विज्ञान तथा प्रविधि सङ्कायका स्नातकोत्तर गरेका एक हजार ५०६ जना र सात हजार २५८ जना स्नातक तहका विद्यार्थीलाई दीक्षित गर्नुका साथै सर्वोत्कृष्ट अङ्क प्राप्त गरेका विभिन्न सङ्कायका विद्यार्र्थीलाई पुरस्कार तथा प्रशंसापत्रद्वारा सम्मानित गरे ।
राष्ट्र समुन्नत, समृद्ध, एकताबद्ध र स्वाधीन रहिरह्यो भने विश्वको कुनै पनि कुनामा नेपालीको सीमा चौडा हुने र गौरवान्वित महसुस गर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “मुलुक गरिब रहेको अवस्थामा हेप्ने र हीनभावनाबाट ग्रसित हुने अवस्था आउँछ, तसर्थ मुलुकको विकासमा एकजुट भएर लाग्नु पर्दछ ।”
प्रकृतिले दिएको साधन स्रोतलाई सदुपयोग गरी औसतभन्दा माथि जीवनयापन गर्ने र सामाजिकता साथ मानव जातिको हितमा केन्द्रित भएर कार्य गर्न विद्यार्थीलाई आह्वान गरे ।
एकथरिले व्यक्तिगत सुख सुविधा, पद प्रतिष्ठालाई जीवनको सफलता ठानेर परिभाषित गर्छन् भने अर्काथरिका मानिसले समाज, मानव, राष्ट्रको निम्ति राम्रो गरी जीवनको सफलता मान्ने गर्छन् भन्दै प्रधानमन्त्री प्रचण्डले भने, “दीक्षित हुनुभएका विद्यार्थीले हाम्रो राष्ट्र, हाम्रो समाज र जनताको सेवालाई भविष्यको सफलताको रुपमा आत्मसात् गर्नुहुनेछ भन्नेमा मेरो विश्वास छ।”
हामी सबैलाई स्वस्थ्य प्रतिस्पर्धामा खरो उत्रनुपर्ने र औचित्यपूर्ण जीवन बाँच्नका निम्ति औसतमाथि काम गर्न आह्वान गर्दै उनले आफू दीक्षित हुँदा राष्ट्र र जनताको सेवाका लागि लिएको अठोट, निष्ठा र लगनबारे स्मरण गरे ।
उनले सङ्क्रमणकाल अन्त्य गरी मुलुकमा सङ्घीय लोकतन्त्रलाई संस्थागत गर्दै आर्थिक सम्बृद्धिमार्फत सभ्य समाज निर्माणतर्फ अग्रसर हुनुपर्ने आवश्यकतामाथि जोड दिँदै प्रधानमन्त्री प्रचण्डले भने, “मुलुकलाई सफलताको चुचुरोमा पुर्याउन राष्ट्र जबसम्म समृद्ध हुँदैन बलियोसँग एकताबद्ध हुँदैन र सङ्घीय गणतन्त्रमार्फत जनताको घरदैलोमा उज्यालो आउँदैन तबसम्म कोही पनि सफल मानिँदैन ।”
पूर्वाञ्चल विश्वविद्यालयमा सीमित साधन स्रोतको कारण शिक्षण अस्पतालको स्थापना हुन नसकेको र दक्ष जनशक्तिको अभाव रहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस चुनौती र समस्यालाई अवसरको रुपमा लिनुपर्ने र गुणस्तरीय दक्ष जनशक्ति उत्पादनका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता प्रकट गरे ।
विसं २०५२ मा स्थापना भएका मुलुकको दोस्रो ठूलो विश्वविद्यालयबाट विभिन्न सङ्कायमा झन्डै ८८ हजार विद्यार्थीले स्नातकोत्तर र स्नातकको उपाधि प्राप्त गरेका छन् । यस विश्वविद्यालयसँग पाँच आङ्गिक क्याम्पस तथा सयभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस रहेको सो अवसरमा जानकारी दिइयो । रासस
प्रकाशित मिति: २२ फाल्गुन २०७३, आईतवार १८:०६