बाँके, २२ फागुन । फुसको छानो, परालको भित्ता, परालकै ओछ्यान चाहे वर्षायाम होस् या हिउँदको उखरमाउलो गर्मी यही ६५ वसन्त पार गरेका बाँके नेपालगन्ज उपमहानगरपालिका–२३ इन्द्रपुरगाउँका पट्टबारी कुशबंधिया सरकारले जनता आवास कार्यक्रम लागू गरेकाले सुरक्षित घरमा बस्न पाउने आशमा छन् ।
दिनभरि सिलौटा, जाँचो र डोरी बेचेर आएको आम्दानीबाट साँझ बिहानको छाक टार्नै मुस्किल पर्ने भएपछि सुरक्षित आवास निर्माण गर्न नसकेका कुशबंधियाले आफूजस्ता निम्न आर्थिक अवस्था भएका जनताको घर सरकारले बनाइदिन्छ भन्ने आशामा वर्षौ बिताएका थिए। उनी भन्छन्, “मैले सुनेको बाँकेमा पनि हामीजस्ता आर्थिक रूपले विपन्न तथा लोपोन्मुख समुदायका व्यक्तिको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि जनता आवास कार्यक्रम लागू भएको छ रे, मैले पनि फारम भरेको छु, सरकारले हाम्रो घर बनाइदियो भने आउँदो वर्षामा भिज्न नपर्ला ।”
जनता आवास कार्यक्रमप्रति उनीजस्ता जिल्लामा बस्ने सबै कुशबंधिया समुदायका नागरिकको अपेक्षा उस्तै छ । इन्द्रपुरकै ३८ वर्षीया मिना कुशबंधिया भन्छिन्, “न जमिन छ, नत घरबासन नै थोरै ऐलानी जग्गामा सानो झुपडी बनाएर बसेका छौँ, हाम्रा लागि सरकारले घर बनाइदियोस् अरु केही चाहिँदैन ।”
“बिहान हुनेबित्तिकै सिलौटा पिटाउने भन्दै, गाउँभरि डुल्नुपर्छ”– उनले भनिन्– “मसला पिस्ने मिक्चर छ भन्छन्, सिलौटा र जाँतो प्रायः कसैले पनि प्रयोग गर्दैनन्, रित्तो हात फर्कनुपर्छ । मिना कुशबंधिया अगाडि थप्छिन्, “सरकारले घर बनाइदियो भने साना छोराछोेरीलाई घरमा छोडर मजुरी गर्न त सकिन्थ्यो ।”
उक्त समुदायका सबै घरधुरीलाई आवासको अपेक्षा भएपनि हुनेखाने र पहुँचमा भएकाले मात्रै घर पाउने हुन् कि भन्ने आशङ्का पनि छ उनीहरुलाई । “जनता आवास कार्यक्रममा काँग्रेस, एमाले, माओवादीले भागबण्डा लगाएर घर बनाउँदै छन् भन्ने सुनेको छु ।” इन्द्रपुरकै राजु कुशबंधियाले भने, “हामी त न पार्टीमा छौँ न कोही हाम्रो बोल्दिने मान्छे छ, कसरी पाउँछौँ घर ?” राजुको मात्रै होइन त्यस्ता प्रश्न लोपोउन्मुख जाति कुशबंधिया समुदायका अधिकांश व्यक्तिको छ ।
“हाम्रो पुर्खेयौली पेसा सिलौटा, जाँतो, सनडोरीको व्यापार हो तर अहिले त्यो सबै सङ्कटमा छ्, हातमुख जोर्न धौधौँ भइरहेका अवस्थामा सरकारले घर बनाइदियो भने ठूलो राहत हुन्थ्यो ।” उनले भने, “तर जुन कुरामा पनि राजनीतिक भागबण्डा हुन्छ भन्छन् यसमा पनि नहोला भनेर कसरी विश्वास गर्ने ?” आशा र आशङ्का दुवै बोकेका जिल्लाका लोपोउन्मुख जाति कुशबंधिया २०५८ सालको जनगणनाअनुसार इन्द्रपुर, फूलटेक्रा र मनिकापुरमा गरी ५५२ जना छन् । उनीहरुलाई (पत्थरकट्टा) जातिका रुपमा समेत चिनिन्छ ।
नेपाल सरकारले बाँकेमा मात्रै एक हजार २४ घर जनता आवास कार्यक्रममार्फत निर्माण गर्ने भएको जिल्ला समन्वय समितिले जनाएको छ । जनता आवास कार्यक्रममा आवास निर्माण गर्दा कार्यविधिअनुरुप फारम सङ्कलन गरी छनोट गर्ने समितिले जनाएको छ ।
नेपाल सरकारले आर्थिक रूपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हक हुने व्यवस्था गरेको छ । सोहीअनुरुप राष्ट्रिय दलित आयोगको सूचीमा सूचीकृत भएका दलित, विपन्न मुसलमान तथा सालवसाली रुपमा नेपाल सरकारले बजेट वक्तव्यमार्फत सम्बोधन गरी समेट्ने लोपोन्मुख र अति सिमान्तकृत जाति तथा समुदायका विपन्न वर्गलाई आवासको व्यवस्थाका लागि आव २०६६-६७ देखि व्यवस्था भएको बजेट तथा कार्यक्रमलाई कार्यान्वयन गर्न नेपाल सरकारले कार्यविधि बनाएको छ ।
कार्यविधिअनुरुप विपन्न वर्गको आवास निर्माण भएमा लोपोन्मुख जाति कुशबंधियाको सुरक्षित घरमा बस्ने सपना साकार हुने कुशबंधिया समुदायको हकअधिकारका क्षेत्रमा काम गर्ने खजुरास्थित जनजागरण समाजले जनाएको छ । उक्त समाजले अहिले जनता आवास कार्यक्रमका विषयमा कुशबंधिया समुदायलाई सचेत पार्ने कार्य गरिरहेको छ । रासस
प्रकाशित मिति: २२ फाल्गुन २०७३, आईतवार १७:०२