काठमाडौं, २२ फागुन । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त तीन अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवा प्रक्रिया ९ फागुनमै अगाडि बढाएको भएपनि बढुवाका लागि अझै केही समय कुर्नुपर्ने भएको छ । बढुवाका लागि संगठनभित्र र बाहिर पनि अदृश्य चलखेल भइरहेको स्रोतको दाबी छ ।
गृह मन्त्रालयअन्र्तगतको बढुवा समितिले ९ फागुनमा रिक्त तीन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदका लागि मूल्यांकन फाराम भरी सात दिन भित्र बुझाउन सूचना प्रकाशित गरेको थियो । बढुवा समितिको सचिवालयका सदस्यसचिव आईजीपी सिंहबहादुर श्रेष्ठद्धारा हस्ताक्षरित सूचनामा बढुवाका लागि आवश्यक पर्ने शैक्षिक योग्यतालगायत बढुवा प्रायोजनार्थ आवश्यक पर्ने प्रमाण पत्रहरुको प्रतिलिपि सात दिन भित्र पेश गर्न भनिएको थियो ।
सो सूचनाबमोजिम नायव महानिरीक्षक (डीआईजी)हरुले मूल्यांकन फारमसमेत भरेर बुझाइसकेका छन् । तर, एआईजी बढुवा समितिका दुई सदस्यमध्ये एक सदस्य गृहसचिव लोकदर्शन रेग्मी १० दिने भ्रमणका लागि तीन दिनअघि इटाली गएकाले बढुवा प्रक्रिया अगाडि बढ्न नसकेको हो । सशस्त्र प्रहरी नियमावली २०७२ बमोजिम एआईजी बढुवाका लागि गृहसचिव र सशस्त्र प्रहरी महानिरीक्षक सम्मिलित दुई सदस्यीय रहने प्रावधान छ ।
त्यसो त, एआईजीका दाबेदार डीआईजीहरुले गृहसचिव लोकदर्शन रेग्मी इटाली जानु अगावै बढुवा समितिले एआईजी बढुवाका लागि सिफारिस गर्ने अपेक्षा गरेका थिए । तर, सिफारिस अगाडि नबढाइएकाले एआईजीका दाबेदारहरुले चलखेलको आशंका गरेका छन् । उनीहरुले कतै बढुवा प्रक्रियालाई थाँती राखेर आफूहरुलाई बलीको बोको बनाउन लागेको त हैन भनेर आशंका गर्न थालेका हुन् ।
सशस्त्रमा एआईजी बढुवाका लागि डीआईजीहरु उत्तम खड्का, नारायणबाबु थापा, पुष्पराम केसी, दिवाकर केसी र रामशरण पौडेल दाबेदार छन् । थापा, केसी र पौडेल नेपाल प्रहरीबाट आएका हुन् । खड्का र केसी नेपाली सेनाबाट आएका हुन् । यी पाँचै जना एउटै पत्रबाट डीआईजी बनेका हुन् । उनीहरुसँगै डीआईजी बनेका शैलेन्द्र खनाल हाल एआईजी छन् भने जीतबहादुर पुनले अवकाश पाइसकेका छन् ।
हालका डीआईजीमध्ये नारायणबाबु थापा र रामशरण पौडेल बढुवाका लागि निकै अगाडि मानिन्छन् । उनीहरुकै ब्याची पुष्पराम केसी पनि एआईजी बढुवामा अगाडि भएपनि एआईजीमा शैलेन्द्र खनाल बढुवा हुँदा बढुवा समितिमा उजुरी दिएकाले नम्बर घट्ने अवस्था छ । नेपाली सेनाबाट आएका खड्का क्षमताका आधारमा पनि निकै पछाडि मानिन्छन् । उनमा कुनै भिजन पनि देखिदैन । उनले खनाल एआईजीमा बढुवा हुँदा बढुवा समितिमा उजुरी दिएका थिए । बढुवा समितिले आफ्नो मूल्यांकन ठीक भएको बताएपछि उनले सर्वाेच्चमा उजुरीसमेत दिएका थिए । उनकै कारण खनाल र जीतबहादुर पुनको बढुवामा ढिलाइसमेत भएको थियो । यसले गर्दा पनि उनको नम्बर घट्ने अवस्था छ । पाँचमध्ये दुई जना आगामी २५ जेठबाट डीआईजीको पाँच बर्से कार्यकालका कारण अनिवार्य अवकाशमा जाने छन् ।
यति मात्र होइन, बढुवा प्रक्रिया अगाडि बढेको भएपनि यी पाँच जनाभन्दा पछि डीआईजी भएकाहरु पनि अहिले बढुवाका लागि सक्रिय छन् । उनीहरु सकेसम्म अहिले नै बढुवा हुने र हुन नसकेको अवस्थामा २५ जेठसम्म बढुवा नै थाँती राख्न लागिपरेका छन् । कथंकदाचित २५ जेठभित्र बढुवा हुन नसकेको अवस्थामा हालका वरिष्ठ पाँचै जना डीआईजी पाँच बर्से सेवाअवधिका कारण घर जानेछन् । यो खेलमा चार जना डीआईजी अत्यन्तै सक्रियरुपमा लागेका छन् । चार जनामध्ये पनि दुई जनाको सक्रियता झनै बढेको स्रोतको भनाइ छ ।
प्रकाशित मिति: २२ फाल्गुन २०७३, आईतवार ०६:५३