दाङ, २० फागुन । जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगको स्थलगत अनुगमन सुरु भएको छ ।
आज बिहान प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्ले, स्थानीय विकास अधिकारी कुलबहादुर जिसी, जिल्ला प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंह, नेपाली सेनाको रिपुमर्दन गण घोराही दाङका गणपति राजन बुढाथोकी, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख किशोर श्रेष्ठ, जिल्ला वन कार्यालयका प्रमुख सोमनाथ सिग्देल सम्मिलित उच्चस्तरीय सरकारी टोलीले जिल्लाका विभिन्न खोलामा सञ्चालनमा आएका क्रसर उद्योगको स्थलगत अनुगमन सुरु गरेको हो ।
प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले घोराही हुँदै तुलसीपुरबीचका विभिन्न खोलामा सञ्चालनमा रहेका क्रसर उद्योग, क्रसर उद्योग सञ्चालकले गरेको घाटगद्दी, आसपासका खोलामा गरिएको उत्खननलगायतका बारेमा स्थलगत अनुगमन गरिएको जानकारी दिए ।
उनका अनुसार मापदण्ड विपरीत सञ्चालन गरिएका क्रसर उद्योगलाई कानुनको दायरामा ल्याउन स्थलगत अनुगमन सुरु गरिएको हो । काफ्लेले प्रक्रिया मिचेर सञ्चालन गरिएका क्रसर उद्योगलाई कारबाही हुने बताए ।
जिल्ला प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगका बारेमा व्यापक गुनासो आएकाले उच्चस्तरीय टोलीले अनुगमन थालेको जानकारी दिए । उनले कतिपय क्रसर उद्योग सडकदेखि पाँच सय मिटरको दूरीभित्रै सञ्चालनमा ल्याइएको अवस्थामा फेला परेकाले त्यस्ता क्रसर उद्योगका बारेमा अब छिट्टै स्थानीय प्रशासनले प्रक्रिया थाल्ने बताए ।
आज बिहान उच्चस्तरीय अनुगमन टोलीले हापुरे, सङ्क्राम, ग्वार खोलामा सञ्चालनमा आएका क्रसर उद्योगको अनुगमनपछि देउखुरी क्षेत्रमा सञ्चालित क्रसर उद्योगको अनुगमनमा निस्किएको छ ।
जिल्लामा दर्ता भएका जम्मा नौवटा मात्रै क्रसर उद्योग रहे पनि क्रसरको सङ्ख्या भने त्योभन्दा बढी छ । रासस
प्रकाशित मिति: २० फाल्गुन २०७३, शुक्रबार १५:३०