म्याग्दी, २० फागुन । हुरीबतासले कक्षाकोठा भवनको छानो उडाउँदा म्याग्दीका तीनवटा विद्यालयको पठनपाठन प्रभावित भएको छ ।
बिहीबार दिउँसोको हुरीबतासले भवनमा क्षति गर्दा सयौँ विद्यार्थीको पठनपाठनमा समस्या भएको हो । भकिम्ली–२ मा रहेको मुसुङडोले, बेनपा–३ गौश्वाँराको राधाकृष्ण आधारभूत विद्यालय र अर्मन–७ नेटामा रहेको भारती प्राविको भवनको छानो हुरीले उडाएको सम्बन्धित विद्यालयले जनाएका छन् ।
विद्यालयका प्रअहरुका अनुसार जस्तापाताको छानो उडाउनुका साथै पर्खालसमेत भत्किएको छ । हावाहुरीले ज्यामरुककोट, भकिम्ली, बाबियाचौर, निस्कोट, कुहूँ, अर्मन लगायतका ठाउँका करिब ५० घरमा क्षति पुर्याएको छ । अर्मन–७ नेटामा दशवटा घरको छानो बस्न नहुने गरी उडाएको र ३५ वटा घरमा क्षति पुर्याएको त्यहाँबाट बल रोकाले जानकारी दिए। अर्मन र बाबियाचौरको सिमाना पुल्चोकस्थित एउटा घरको सबै छानो उडाएको छ ।
त्यसैगरी, बेनी नगरपालिका–३ गौश्वारामा पनि हावाहुरीले छवटा घरमा क्षति पुर्याएको चन्द्रकान्त रिजालले जानकारी दिए । इन्द्रप्रसाद शर्मा, तीर्थ मल्ल र देवबहादुर खड्काको घर पूर्णरुपमा क्षति पुगेको छ ।
भद्रबहादुर सापकोटा, रतनबम मल्ल र मनबहादुर थापाको घरमा पनि क्षति पुगेको छ । बेनी नगरपालिकाको डडुवामा रहेको केसी बाख्रा फार्मको टिनको छाप्रो र प्लास्टिकको टनेल हावाले उडाउँदा करिब रु ४० हजार बराबरको क्षति भएको सञ्चालक होमबहादुर खत्रीले बताए । जिल्ला प्रहरी कार्यालय म्याग्दीले हावाहुरीले पुर्याएको क्षतिको विवरण सङ्कलन कार्य जारी रहेको जनाएको छ । रासस
प्रकाशित मिति: २० फाल्गुन २०७३, शुक्रबार ११:३५