म्याग्दी, १९ फागुन । पर्यटकीय तथा धार्मिक हिसाबले महत्वपूर्ण सम्भावना बोकेको भुरुङ तातोपानी–२ मा अवस्थित बराह गुफा ओझेलमा परेको छ ।
पूर्वाधार र प्रचारप्रसारको अभावमा उक्त गुफा ओझेलमा परेको हो । करिब पाँच सय मिटर लामो गुफाभित्र विभिन्न भाँडाबर्तन, पक्षी, जनावरका आकृति रहेका स्थानीय बासिन्दा ओमबहादुर फगामीले बताए ।
गुफाको नजिकै झरनासमेत रहेको छ । यसको विशेषता र महत्वका बारेमा प्रचारप्रसार हुन नसक्नु तथा व्यवस्थित पदमार्गको अभावले पर्यटक भित्रन सकेका छैनन् । पर्यटकीयस्थल भुरुङ तातोपानी बजारदेखि मान्द्रेढुङ्गा हुँदै करिब तीन घन्टा उकालो चढेपछि बराह गुफा पुग्न सकिन्छ ।
बराह गुफाको दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । जनैपूर्णिमा पर्वमआ भुरुङ तातोपानी र त्यस आसपासका गाउँका बासिन्दा पूजाआजा र भाकलका लागि बराह गुफामा पुग्छन् । बराह गुफालाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न स्थानीय बासिन्दा र भुरुङ तातोपानी गाविसले संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसारमा अग्रसरता देखाएका छन् ।
मान्द्रेढुङ्गा हुँदै बराह गुफा र मुन्द्रा चढाउने डाँडासम्म पदमार्ग निर्माण थालिएको गाविस सचिव दीपकलाल पालले जानकारी दिए । बराहगुफा नजिकै रहेको मन्दिरको पुनःनिर्माण थालिएको छ । “मन्दिर पुनःनिर्माणका लागि गाविसले चालु आवमा रु एक लाख ८० हजार बजेट विनियोजन गरेको छ,” उनले भने । पदमार्ग निर्माणका लागि श्रमदान र चन्दा सङ्कलन समेत भइरहेको छ ।
तातोपानी कुण्डको आम्दानी दोब्बरले बढ्यो
पर्यटकीयस्थल भुरुङस्थित प्राकृतिक तातोपानी कुण्डको आम्दानी दोब्बरले बढेको छ । कुण्डमा आउने पर्यटकको चाप, प्रवेश शुल्क वृद्धि र सञ्चालनका लागि ठेक्का प्रतिस्पर्धा गराउन थालिएपछि आम्दानी बढेको हो । यस वर्षदेखि कुण्डको आम्दानीलाई गाविस कार्यालयको स्वामित्वमा ल्याइएको छ ।
“ठेक्का लगाउँदा आम्दानी दोब्बरले बढेको हो,” गाविस सचिव दीपकलाल पालले भने । यसअघि कुण्ड संरक्षण समितिले ठेक्का लगाउँदै आएको थियो । आव २०७२७३ मा रु १६ लाख २२ हजारमा वार्षिक ठेक्का लागेको कुण्ड सञ्चालनका लागि चालु आवमा रु ३० लाखमा सम्झौता भएको छ ।
यसैगरी यस वर्षदेखि तातोपानी कुण्डमा स्नानका लागि प्रवेश शुल्कवापत नेपालीलाई प्रतिव्यक्ति रु ३० बाट बढाएर रु ५० तथा विदेशीलाई रु १०० बाट बढाएर रु १५० कायम गरिएको कृष्णगण्डकी तातोपानी कुण्ड संरक्षण समितिका अध्यक्ष आत्मा तुलाचनले जानकारी दिए । पर्यटन कार्यालय पोखराको रु ११ लाख ५० हजार सहयोगमा हालै यहाँ दुईवटा पोखरी निर्माण गरिएको छ । रासस
प्रकाशित मिति: १९ फाल्गुन २०७३, बिहीबार १३:३४