बाजुरा, १८ फागुन । पछिल्लो समय ग्रामीण क्षेत्रका महिला व्यावसायिक बन्दै गएका छन् ।
पुरुषको मात्र भर पर्दैआएका महिला आफैले आर्थिक उपार्जनका काम गर्न थालेका छन् । दहकोट गाविसका भानादेवी रोकायाले आफ्नो नाममा उद्योग दर्ता गराइन् । उनले घरेलु तथा साना उद्योग कार्यालयबाट ४५ दिनको कपडा बुनाइ सम्बन्धी तालिम समेत लिइन् ।
जिल्लाको एउटा गैरसकारी संस्थाले उनलाई कपडा बुनाई सम्बन्धी चर्खा र तान समेत सहयोग गरेको छ । सदरमुकाम मार्तडीमा स्थापना गरेको सो उद्योगमा कपडा बुन्ने काम गरिँदै आएको छ । अचेल उनले अन्य महिलालाई समेत सीप सिकाइरहेकी छिन् ।
“साझबिहान के खाने भन्ने चिन्ता हुन्थ्यो, अहिले राम्रै आम्दानी भइरहेको छ,” उनले भनिन् । उनले अल्लो भाँग्रोका कोट, पाइन्ट, झोला, जुत्तालगायत कपडा बुन्ने गरेकी छिन् । अल्लो भाग्रोका कपडा प्रति मिटर रु ८०० देखि रु एक हजारसम्ममा बिक्री गर्दैआएकी छिन् ।
त्यस्तै बडिमालिका नगरपालिका– ९ का सरस्वती पाध्यायले नेपालगन्जबाट रु आठ हजारमा ठेला ल्याई चाउमिन, चट्पटे, पानीपुरी, अण्डा, पकौडा, समोसालगायत परिकार बनाउन बिक्री गर्छिन् । ठेलाव्यापारबाट दैनिक रु एकहजार ५०० देखि रु दुई हजारसम्म आम्दानी हुने गरेको उनले बताइन् ।
“आम्दानी हुन थालेपछि श्रीमान् पनि खुसी छन्,” उनले भने। ठेलाव्यापारकै कमाइले उनले घरखर्च चलाउँदै अाएका छन् ।
व्यवसाय सञ्चालन गर्न सहयोग गर्दै आएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष देवबहादुर रोकायाले बताए । दर्ता गर्ने तर व्यवसाय नगर्ने पाइएकाले व्यवसाय सञ्चालन गर्न उनले सवैलाई आग्रह गरे । जिल्लाका ग्रामीण भेगका अन्य महिलाले समेत विभिन्न व्यवसाय गर्न थालेका छन् । उनीहरुले गाउँमै सहकारी स्थापना गरेर व्यवसाय सञ्चालन गर्ने गरेका पाइएको छ । तरकारीखेती, कुखुरापालन, सिलाइकटाई जस्ता थुप्रै काममा पछिल्लो समय महिला अग्रसर भएका महिला अधिकारकर्मी सीता विश्वकर्मा बताउछिन् । रासस
प्रकाशित मिति: १८ फाल्गुन २०७३, बुधबार १४:०९