काठमाडौँ, १७ फागुन । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले परिमार्जनसहित संविधान संशोधनको विषयलाई टुङ्ग्याउनु निर्वाचनको पहिलो सर्त भएको बताएका छन् ।
नयाँ शक्ति नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उनले भने, “सबैलाई निर्वाचनमा सहभागी बनाउन सरकारले संशोधनलाई टुङ्ग्याउनै पर्छ । यसमा हेलचेक्र्याईं गर्न हुँदैन, विषयको गम्भीरता बुझ्नुपर्छ ।”
आफ्नो पार्टीले निर्वाचनका लागि आन्दोलनरत पक्षलाई समेटौँ भनेर बारम्बार भनेको उल्लेख गर्दै संयोजक भट्टराईले मूलतः मधेसी, थारू र आदिवासी जनजाति संविधानसँग असन्तुष्ट भएकाले उहाँहरुलाई सहमतिमा लिन जरुरी भएको बताए ।
स्थानीय तह, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको टुङ्गो नलगाई गरिने निर्वाचनले गति नलिने भन्दै उनले सरकारले स्थानीय तहको सङ्ख्या र सिमानाको कुरा पहिले हल गर्नुपर्नेमा जोड दिए ।
निर्वाचन गर्न प्रत्यक्ष, अप्रत्यक्ष रु २० अर्बभन्दा धेरै खर्च हुने उल्लेख गर्दै संयोजक डा भट्टराईले आगामी २०७४ साल माघ ७ गते सम्ममा सबै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक प्रावधानलाई विचार गरेर तीनवटै निर्वाचन एकैसाथ गर्नु उपयुक्त र व्यावहारिक हुने धारणा राखे । रासस
प्रकाशित मिति: १७ फाल्गुन २०७३, मंगलवार १७:५७