डोटी, १६ फागुन । केहि महिना अगाडिसम्म सुनसान देखिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलमा हिजो आज उपचार गर्न आउनेको भिड भाड देखिन्छ । बाथ, नशा, हाडजोर्नीको दुखाइ, अनिन्द्रा, टाउको दुखाइ, कम्मर दुखाइ, मानसिक समस्या र डिपे्रसनका बिरामीका लागि पञ्चकर्म आयुर्वेदिक चिकित्सा पद्दती उपयोगी देखिएकाले उपचारका लागि आउनेको संख्या ह्वात्तै बढेको हो ।
पञ्चकर्म चिकित्साअनुसार स्नेहन अन्तर्गत रोगनाशक अश्वगन्धा, तिल, ब्राम्ही तेलको सहायताले बिरामीलाई मालिस गरेर शरीरलाई सुगठित पारी पिंडाबाट मुक्ति दिलाएर शरीरलाई स्फुर्ति गराउने कार्य गरिँदै आएको औषधालयका आयुर्वेद चिकित्सक डा चेतराज जोशीले बताए ।
स्नेहन पछि रोगीलाई नाडी स्वेदनअन्र्तगत रबर पाइपको प्रयोग गरी औषधिको द्रव्ययुक्त वाष्पलाई शरीरका विभिन्न आवश्यक अङ्गमा पुर्याउने गरिन्छ । औषध द्रव्य र जललाई नाडी स्वेदयन्त्रमा राखी आगोमा उमालेपछि निस्कने वाष्प स्वेदन यन्त्र (वाष्प वाकस) मा बिरामीको टाउको बाहिर राखी मुनिबाट औषधियुक्त वाष्प प्रवेश गराई उपचार गरिँदै आएको उपचारमा संलग्न औषधालयकी कबिराज बिद्या घिमिरेले बताइन् ।
यन्त्रको सहायताले उपचार गराउँदा जोर्नीको समस्यासँगै पक्षाघात, दम, खोकी, मुख बाङ्गिने, गर्धन कडा हुने, ढाडको दुखाइ, शारीरिक तथा मानसिक थकान दूर गर्न सहायक हुने बैद्य रतन बहादुर बोहराले बताए ।
भारतको पिलभीतबाट उपचार गरेर फर्केका निर्मल सोब भन्छन्, ‘पिलभितमा मलाई सन्चो भएको थिएन जब यहाँ उपचार गर्न थालेको छ तब आराम भएको छ ।’ यसैगरी पहिलो दिन स्वास्थ्य केन्द्रमा उपचारका लागि आउदा श्रीमान्ले बोकेर ल्याइएकी दिपायल सिलगढी नगरपालिकाकी गोलमा देवी आजभोली हिडेर आउने भएकी छन् । उपचारबाट निको हुँदै गएकी उनले भनिन्, ‘मेरा दुबै खुट्टा चलाउन सकिदैनथ्यो आज म आफै हिडेर अस्पताल पुगेकी छु ।’
उपचारका लागि दैनिक २० देखि २५ जना आउने गरेकोमा अहिले दैनिक १सय भन्दा बढी आउने गरेको केन्द्र प्रमुख जोशीले जानकारी दिए । उनले भने, ‘स्टीम बक्स ल्याएको छौं अटो क्लीप भित्र जडीबुडी र तेल लगाएर ग्यासद्वारा सेक लागईन्छ जसले गर्दा बाथ रोग नसाच्यापिएको र हड्डी खिइएको राम्रो हुने गरेको छ ।’
उपचारका लागि आएका ६० प्रतिशत बिरामीलाई सन्चो भएको केन्द्र प्रमुख जोशीले बताए । नियमित औषधि खाने, खानपिनमा पनि ख्यालगर्ने धेरोजसोलाई सन्चो भएको उनको भनाई छ ।
उपचार गर्नेको संख्या बढेकाले उपचार संलग्न जनशक्ति न्यून भएको र स्टीम बक्स अटो क्लीप थप गर्न आवश्यक भएको हुनाले माग समेत गरिएको केन्द्रका प्रमुख जोशीले बताएका छन् ।
प्रकाशित मिति: १७ फाल्गुन २०७३, मंगलवार ०७:४०