धनगढी, ७ फागुन । देशको एकमात्र समाचार समिति राससले समाचार उत्पादनका दृष्टिमा आफूलाई समयानुकूल बनाउन सक्नुपर्नेमा यस क्षेत्रका बुद्धिजीवी एवम् सञ्चारकर्मीले जोड दिएका छन् ।
राससको ५६आैँ वार्षिकोत्सवका सन्दर्भमा राससको समाचार सेवाका विषयमा लिइएको प्रतिक्रियामा यहाँका पुराना पत्रकार घनबहादुर शाहले राससले समयको मागलाई चिनेर सोही बमोजिमका समाचारको उत्पादन गर्न जरुरी रहेको बताए ।
‘राससको समाचार विश्वसनीय हुन्छ’ भन्ने छाप सबैमा परेकोले यसलाई बचाइराख्नुपर्ने सुझाव दिँदै उनले भने— “समाचार समितिको आवश्यकता र महत्व अहिलेको समयमा पनि झन बढेको छ, यसले औपचारिक समाचार मात्र नभइ अनौपचारिक समाचारलाई पनि ध्यान दिनुपर्छ ।”
रासस समाचार सेवाको सेवाग्राही कैलाली दैनिकका प्रकाशक गणेश भण्डारीले समाचार विश्वसनीय हुनु नै राससका लागि ठूलो सम्पति भएको बताउँदै दूरदराजका घटना समाचारलाई पनि आफ्ना समाचारमा स्थान दिनसके यसको प्रभावकारीता अझ बढ्ने सुझाव दिए ।
अर्थविद एवम् धनगढी इन्जिनियरिङग कलेजका प्राचार्य शिवहरी मुडभरी समाचारका लागि भरपर्दो र विश्वसनीय संस्थाका रुपमा रासस रहेकाले यसले गर्ने आफ्ना कामलाई पनि समयानुकूल बनाउनुपर्ने सुझाव दिन्छन् ।
पत्रकार हिक्मत रावलले राससले केवल सरकारी पक्षको वकालत नगरी समाचार उत्पादनलाई परिस्कृत र सन्तुलित लिँदै जान सुझाव दिए ।
निजी क्षेत्रको प्रयासमा विसं २०१६मा स्थापना भएको नेपाल संवाद समिति र २०१७ मा स्थापना गरिएको सगरमाथा संवाद समितिलाई २०१८ फागुन ७ गते एकिकृत गराइ राष्ट्रिय समाचार समितिको स्थापना गरिएको हो ।
स्थापनाकालदेखि नै राससले अविछिन्न रुपमा देश तथा विदेशका सत्यतथ्य र विश्वसनीय समाचार सङ्कलन एवम् उत्पादन गरी आफ्ना सेवाग्राही सञ्चार माध्यमलाई वितरण गर्दै आएको छ । रासस
प्रकाशित मिति: ७ फाल्गुन २०७३, शनिबार १८:०३