काठमाडौं, ६ फागुन । यसै साता स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त मधेसी मोर्चाका नेतासँग ‘वान टु वान’ भेट थालेका छन् ।मोर्चालाई सहमतिमा ल्याएर जेठभित्रै स्थानीय निर्वाचन सम्पन्न गर्ने गरी ८ फागुनअगावै स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री दाहाल निर्वाचन मिति एक–दुई दिनमा नै घोषणा गर्ने र निर्वाचन आयोगले निर्वाचनसम्बन्धी तयारी गरिरहँदा संसद्बाट चाँडै नै संविधान संशोधन पनि गराउने गरी सहमति जुटाउने प्रयासमा छन् ।

निर्वाचन आयोगले ८ फागुनभित्रै निर्वाचन मिति घोषणा गरिए १ र २१ जेठमा दुई चरणमा स्थानीय निर्वाचन गर्न सम्भव रहेको कार्यतालिका सरकारलाई दिएको थियो । आयोगकै कार्यतालिकाअनुसार निर्वाचन मिति घोषणा गर्ने तयारीमा जुटेका प्रधानमन्त्री दाहाल १० फागुनमा बस्ने व्यवस्थापिका–संसद् बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई संविधान संशोधनमा लचिलो हुन आग्रह गर्ने र त्यसअघि मोर्चालाई निर्वाचनमा लचक हुन आग्रह गरेर निर्वाचन मिति घोषणा गर्ने तयारीमा जुटेका छन् ।
प्रधानमन्त्री दाहालले बिहीबार संयुक्त मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग ‘वान टु वान’ भेट गरेका छन् । भेटमा दाहालले मिति घोषणा र संविधान संशोधन विधेयक केही दिन अघिपछि भए पनि एकैसाथ अगाडि बढाउने सरकारको तयारी रहेकाले निर्वाचन मिति घोषणामा सहयोग गर्न आग्रह गरेका छन् ।
मोर्चाका नेता महतो पनि प्रधानमन्त्री दाहालको प्रस्तावमा सकारात्मक बनेको बताइएको छ । महतोले सुरुमा मिति घोषणा गर्दा अन्य मोर्चाका नेताहरूको असन्तुष्टि रहने भएकाले संविधान संशोधनपछि मात्रै निर्वाचन मिति घोषणा गर्नु राम्रो हुने सुझाव दिएका थिए । तर, दाहालले निर्वाचन आयोगले फागुन पहिलो साता नै निर्वाचन मिति घोषणा गर्न माग गर्दै आएकाले अहिले निर्वाचन मिति घोषणा गर्ने र लगत्तै संविधान संशोधन प्रक्रिया अगाडि बढाउन आफू तयार रहेको बताएपछि महतोले आफू भने सकरात्मक नै रहेको जनाएका थिए ।
प्रधानमन्त्री दाहालले मोर्चाका विभिन्न घटकसँग सुरुमा ‘वान टु वान’ भेट गर्ने र मोर्चासँग संयुक्त रूपमा भेटेर पनि सहमति जुटाउने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।
यसअघि प्रमुख तीन दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालबीच ८ फागुनअगावै निर्वाचन मिति घोषणा गर्न सहमति जुटेको थियो ।
सरकारले निर्वाचन मिति घोषणा गर्ने तयारी गरे पनि मोर्चाले भने संविधान संशोधनअगाडि निर्वाचन मिति घोषणा भए आन्दोलनमा उत्रने चेतावनी दिँदै आएको छ । ‘परिमार्जनसहित विधेयक पारित नभए सशक्त आन्दोलनमा उत्रनुको विकल्प छैन,’ फोरम नेता अशोक राईले भने । निर्वाचनको वातारण नबनीकन चुनाव मिति घोषणा गर्न नहुने उनको तर्क छ ।
सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले निर्वाचन सबैको सहमतिमा र सबैले भाग लिन सक्ने अवस्थामा गर्नुपर्ने भए पनि संविधान कार्यान्वयन गर्नुपर्ने राज्यको मुख्य जिम्मेवारी भएकाले मिति घोषणा र संविधान संशोधन एक–दुई दिन अघिपछि भए पनि सँगसँगै अघि बढ्ने बताइन् । ‘निर्वाचन मिति घोषणा गर्न मोर्चाले सहयोग गर्नुपर्छ, अनि संविधान संशोधन गर्न एमाले लचक हुनैपर्छ,’ उनले भनिन ।
प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार ०६:४३