धनगढी, ४ फागुन । द्वन्द्वकालमा कैलालीको मोहन्याल गाविसलाई चुरे क्षेत्रको राजधानी बनाउने आश्वासन पाएका स्थानीय जनता सडकलगायतका आधारभूत सेवा सुविधासम्म नपाउँदा अहिले निराश भएका छन् ।
आफू सत्तामा पुगेमा मोहन्याललाई चुरे क्षेत्रको राजधानी बनाउने आश्वासन तत्कालीन माओवादीले दिएकामा सत्तामा पुगेपछि उनीहरूले सबै कुरा बिर्सेका कारण स्थानीय जनता निराश बनेको गाविसका पूर्व अध्यक्ष खड्गबहादुर बुढामगरले बताए ।
कैलाली जिल्लाको विकट पहाडी क्षेत्रको मोहन्याल गाविस अहिलेसम्म सडक सञ्जालमा जोडिएको छैन । गाविसलाई सडक सञ्जालमा जोड्ने प्रयासस्वरुप २२ वर्ष अघि तराईको चौमालाबाट सडक निर्माण थालिए पनि अहिलेसम्म उक्त सडक निर्माण पूरा हुन सकेको छैन ।
चौमाला गाविसको चौमालाबाट मोहन्याल गाविसको मालिकासम्म सडक निर्माण कार्य विसं २०५१ मा सुरु गरिएकामा उक्त सडकको २१ किमी सडकको काम अझै अधूरो छ । मालिकादेखि कटुञ्जेसम्मको आठ किमी सडकको अवस्था पनि सुधार हुन सकेको छैन ।
मालिका नजिकै रहेको सिस्ने पहाडको चट्टान भत्काउन छुट्याइएको बजेट थोरै भएकोले यसवर्ष पनि मोहन्यालका बासिन्दाको सडकसँग जोडिने सपना अधूरै रहने देखिएको छ ।
सडक निर्माणको पहलस्वरुप दुई दशकदेखि जिल्ला विकास समितिको कार्यालयमा धाइरहेको भए पनि अझैसम्म सडक निर्माणका लागि उचित सुनुवाइ नगरिएको बुढामगरले बताए ।
स्थानीय पदम देउवाले विकासको पहिलो पूर्वाधार मानिने सडक निर्माणमा ध्यान नपुर्याउँदा यस क्षेत्रको समग्र विकासमा समस्या भएको बताउछन् ।
चुनावको समयमा दलका उम्मेदवारले मोहन्याललाई सडक सञ्जालसँग जोड्ने आश्वासन दिँदै मत माग्ने गरेकोमा चुनावपछि जित्नहरू पुनः फर्र्किएर नआउने गरेको गुनासो स्थानीयवासीको छ ।
हालै मोहन्याल गाविस पुगेका कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भौगोलिक विकटताका कारण गाविसका जनताको जनजीवन अत्यन्त दयनीय र कष्टकर देखिएको बताए ।
जिल्ला विकास समिति कैलालीले यसवर्ष मोहन्याल सडकको निर्माणका लागि रु २५ लाख छुट्याएको बताइएको छ । धनगढीबाट झन्डै ६० किमीको दुरीमा रहेको यो गाविस क्षेत्रमा सडक सञ्चार लगायतका आधारभूत सुविधा अझै पुग्नसकेको छैन । रासस
प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार १६:१२