मोरङ, ४ फागुन । विराटनगर–१३ निवासी रीतादेवी सिंहले पुष्पवाटिका नामक नर्सरी सञ्चालन गरेको १३ वर्ष भयो । रु ५० हजार लगानीबाट व्यवसाय सुरु गरेकी सिंहले निरन्तर रातदिन केही नभनी मिहेनत र परिश्रम गरिरहिन् ।
उनले निरन्तर परिश्रम गरिहिइन् र फल पनि मिठै पाइन् । उनको आर्थिकस्तरमा निकै परिवर्तन आयो । मोरङको सिसवनी जहदामा जन्मेकी सिंहले नर्सरी सञ्चालन गरेर कमाएको मुनाफाले २०७३ सालमा विराटनगर उपमहानगरपालिकामा घडेरी किनेर आफ्नै घरसमेत बनाउन सफल भएकी छिन् ।
सिंहले उत्पादन गरेका बिरुवा विराटनगरलगायत आसपासका गाउँबाट खरिद गर्न मानिस आउने गरेका छन् । विभिन्न प्रजातिका फूलका बिरुवा यहाँ पाइने गरेको छ । केही आफैँ उत्पादन गर्रछिन् भने भारतको कलकत्ताबाट समेत बिरुवा आयात गर्ने गरेकी छिन् । फूलका बिरुवाको बिक्रीबाट मात्र उनले अहिले मासिक रु २० हजारभन्दा बढीको आयआर्जन गर्दै आएकी छिन् । त्यही आम्दानीबाट उनले आफ्ना एक छोरा र एक छोरीलाई राम्रो विद्यालयमा पढाइ रहेकी छिन् ।
छोरा कक्षा १२ मा अध्ययन गरिरहेकी छिन् भने छोरी कक्षा ११ मा पढिरहेकी छिन्। त्यति मात्र होइन उनले सञ्चालन गरेको पुष्पवाटिकामा चारजनालाई रोजगारीको अवसरसमेत दिएकी छिन् । आफूले सञ्चालन गरेको व्यवसायबाट निकै सन्तुष्ट रहेको उनको भनाइ छ ।
उनी भन्छिन्, “हिम्मत र मिहेनत गरेर अगाडि बढे यो दुनियाँमा असफलता भन्ने कुरा केही छैन । उनी मात्र होइन उद्यम गर्ने हो भने न त ठूलो ठाउँ चाहिन्छ, न त धेरै सम्पत्ति । आफूसँग भएको सम्पत्तिको उचित व्यवस्थापन गरी मिहेनत गर्ने हो भने जो कोही पनि सफल उद्यमी बन्न सक्छन् ।”
त्यसको उदाहरण विराटनगर बजारमा बसेर फलफूलका बिरुवाको व्यवसाय गर्नेले प्रदर्शन गरेका छन् । उनी जस्ता धेरै थोरै लगानी गरेर जमिन लिजमा लिएर नर्सरी सञ्चालन गर्नेले व्यवसायमा सफल मात्र भएकी छैनन् प्रशस्त आयआर्जन गरी आनन्दको जिन्दगी बाँचिरहेकी छिन् । विराटनगरमा करिब एक दर्जन नर्सरी सञ्चालनमा छन् । ती नर्सरी थोरै लगानीबाटै सञ्चालनमा ल्याइएको हो । तर अहिले ती नर्सरी सञ्चालक निकै मुनाफामा छन् ।
विराटनगरको हिमालय नर्सरीका सञ्चालक रामसकल यादवले करिब १० वर्षपहिले पनि रु ६० हजारको लागानीमा नर्सरी सुरु गरेका । तर अहिले दैनिक रु २० को आम्दानी गर्छन्। सो नर्सरीमा ६ जना कामदार छन् । उनी जस्ता धेरै नर्सरी सञ्चालक मिहेनत गरेर सफल उद्यमी बनेका छन् । रासस
प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार १२:०९