रोल्पा, ३ फागुन । कोर्चाबाङ–४ घापागाउँका ४८ वर्षीय टङ्कबहादुर बुढामगर छालाको डोको बनाउनमै व्यस्त देखिन्छन् । आफ्नै श्रम र सीपमा जिल्लामै निर्माण गरिएका छालाको डोकोले बजार पाउन थालेपछि उनको व्यस्तता बढेको हो
जिल्लामा मात्र नभई चितवन, पोखरा, काठमाडौँलगायत ठाउँका इँटाभट्टामा छालाको डोकोको माग बढ्दै गएको छ । एउटा राँगा र भैँसीको छालाबाट करिब तीन वटासम्म डोको बनाउन सकिने बुढामगर बताउछन्। प्रतिडोकोको मूल्य रु एक हजारदेखि रु एक हजार २०० सम्म पर्छ ।
छालाको डोको बनाएर बुढामगरले मासिक रु ३० हजारदेखि ४० हजारसम्म आम्दानी गर्दै आएका छन् । डोकोलाई घामपानीबाट बचाउन सके पाँचदेखि सात वर्षसम्म टिक्ने उनी बताउछन् । बुढामगरको आर्थिक अवस्था कमजोर थियो । आम्दानीको स्रोत थिएन । उनी रोजगारीका लागि कुबेत पुगे सोचेअनुसारको कमाइ नभएपछि उनी घर फर्किए ।
बुढामगरले ललितपुरको इँटाभट्टामा मजदुरी गरेर स्नातकसम्म अध्ययन गरे । जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालित अनौपचारिक शिक्षा कार्यक्रमका लागि निरीक्षकका रुपमा नियुक्त भएपछि उनी रोल्पा फर्के । “मासिक रु ७०० पारिश्रमिकमा काम गर्नथाले, फिल्डमै हिँड्दाहिँड्दै सबै रकम सकिन थाल्यो,” उनले भने ।
श्रीमतीको पत्थरीको शल्यक्रिया गर्नुपरेपछि बुढामगरलाई गरिबीले नराम्रोसँग पिरोल्यो । उपचारमा लागेको ऋण तिर्ने मनसायले उनले लिबाङमा २०५७ सालदेखि मासु पसल सञ्चालन गरे । उनले मासुसँगै छालाको डोको बनाएर बिक्री गर्न थाले । “पछिल्ला दिनमा छालाको डोकोको माग बढ्दै गएको छ,” उनले भने ।
उनी व्यवसायबाट सन्तुष्ट छन् । “छोराछोरीले यही व्यवसायको आम्दानीले उच्च शिक्षा हासिल गरेका छन्,” बुढामगरले भने । उनले हाल लिबाङमा चार रोपनी जग्गा समेत किनेका छन् । उनले आफ्नै लगानीममा बधशाला निर्माण गरेका छन् । उनका एक छोरा र एक छोरी हाल सरकारी जागिरमा प्रवेश गरेका छन् ।
जिल्ला पशुसेवा कार्यालयले उनको कामको मूल्याङ्कन गर्दै रु दुई लाख ४० हजार अनुदान दिएको छ । बुढामगर जिल्लामा सफल व्यवसायीका रुपमा स्थापित भएका छन् ।
जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक डा निमबहादुर सिंहका अनुसार राँगा तथा भैँसी काट्न लिबाङमा दुईवटा, सुलिचौर र घर्तीगाउँमा एक-एकवटा बधस्थल तथा मासु पसल सञ्चालनमा रहेका छन् । उनीहरुले छालाको डोको समेत बनाउँदै आएका र कार्यालयले सो सम्बन्धी तालिम समेत प्रदान गर्दैआएको सिंह बताउछन् । रासस
प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलवार १६:४४