झापा, ३ फागुन । जैन धर्मका सर्वोच्च गुरु आचार्य महाश्रमणजी अहिंसा यात्राका क्रममा आज बिहान पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गरेका छन् ।
सद्भावना, नैतिकता र नशाबाट मुक्तिको सन्देश बोकेर सयौँ अनुयायीका साथ भारतको पश्चिम बङ्गालस्थित पानीटङ्की नाकाबाट बिहान ९ः१५ बजे नेपाल प्रवेश गरेका आचार्य महाश्रमणजीलाई सहरी विकासमन्त्री अर्जुननरसिंह केसी, सांसद रवीन कोइराला, नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मालगायतले काँकडभिट्टामा औपचारिक स्वागत गरेका थिए ।
आजीवन पैदलै हिँड्ने सङ्कल्प लिएका धर्मगुरु आचार्य महाश्रमणजी तीन दिनसम्म झापाको मेचीनगर, बिर्तामोड र भद्रपुरमा रहने र फागुन ६ गते भद्रपुर नाकाबाट भारतको विहार फर्किने तेरापन्थी युवक परिषद् झापाका अध्यक्ष मञ्जित जैनले बताए ।
जैन धर्म नेपालमा फैलिएको अढाइ सय वर्षको इतिहासमा जैन सर्वोच्च धर्मगुरुले यसरी नेपाल प्रवेश गरेको दोस्रोपटक हो । दुई वर्षअघि उनी वीरगन्जबाट नेपाल आएर काठमाडौँसम्म गएका थिए ।
सेतो पहिरन लगाउने र मुखमा सेतो मास्क लगाउने आचार्य महाश्रमणजीले सन् २०१० मा दिल्लीबाट अहिंसा यात्राको थालनी गरेका थिए । त्यसयता उनी निरन्तर भारत, नेपाल र भुटानको विभिन्न स्थानमा पैदल यात्रामा छन् ।
झापामा उनको स्वागतका लागि सडकहरुमा दर्जनौँ स्वागतद्वार बनाइएका छन् भने महाश्रमणजीको तस्बिर र महानवाणी राखेर फ्लेक्स ब्यानरहरु राखिएका छन् ।
उनले आज दिउँसो धुलाबारीस्थित पासाङ ल्हामू जेसिज प्रतिष्ठानको सभाहलमा विशेष प्रवचन दिने कार्यक्रम रहेको छ । रासस
प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलवार १३:३६