इलाम, २ फागुन । सुलुबुङ–८ का बालकृष्ण सापकोटा आफ्नो मोबाइलमा घन्टी बज्नेबित्तिकै औषधि जुटाउन थाल्छन् ।
फोन उठाएर कस्तोखालको बिरामी हो, लक्षण बताउन लगाउछन् र सोही बमोजिमको औषधि बोकेर निस्कन्छन् । यो त उनको दैनिकी नै बनेको छ । स्वदेशमा मात्र होइन, उनलाई विदेशबाट पनि औषधि चाहियो भन्दै फोन आउने गरेको छ ।
गाउँघरमा खेर गइरहेका स्थानीय जडीबुटी सदुपयोग गरेर जन्डिसका डाक्टर नै बनेका छन् । “मैले उपचार गरेपछि अस्पताल जानु पर्दैन, उनी भन्छन् – “उपचारका लागि ठूलाठूला र महँगा स्वास्थ्य केन्द्रसम्म धाउनु पर्दैन, घरेलु औषधि खाने हो भने घरमै बसी बसी रोग निको हुन्छ ।”
आफू सानो छँदा जन्डिसको रोगबाट पीडित भएकाले आफूले उपचार पद्धति सिकेर बिरामीको सेवा गरिरहेको बताए । “विसं २०४४ मा रोगबाट थलिएपछि उपचारका लागि भारतको दार्जिलिङ गएँ । त्यहाँ जाँदा पनि डाक्टरको साथमा रहेर दिनहुँ औषधि खानुपर्ने । त्यसैबेला एकजना बिरामीले विश्वनाथ पौडेलकहाँ जान सल्लाह दिए, उनले औषधि बनाएर खुवाएपछि मेरो जन्डिस निको भएको हो” – उनले भने । अहिलेसम्म १२ हजारभन्दा बढी जन्डिस रोगीको सफल उपचार गरिसकेको उनले बताए ।
विदेशमा बसेका धेरै नेपाली दाजुभाइलाई जन्डिस निको पारेको उनको दाबी छ । जन्डिसका बिरामीलाई आयुर्वेदिक पद्धतिले जडीबुटीबाट औषधि बनाएर दिएपछि डाक्टरकहाँ जानै नपर्ने सल्लाह दिन्छन् । उपचार खर्च पनि थोरै छ ।
“एक बट्टाको रु ३२० पर्छ, त्यसले निको भएन भने मात्र अरु औषधि दिन्छु”, उनले भने–“बिरामीलाई एकपटकदेखि थप्नुपरेको छैन ।” उनलाई मोबाइल नम्बर पत्ता लगाएर धेरैले टाढा–टाढाबाट फोन गर्छन् । औषधि चाहियो भनेपछि उनी अप्ठ्यारो नमानी औषधि खोजेर उपचारमा जान्छन् ।
उनले सबैभन्दा पहिले २०५१ सालमा मावु–४ का अमृत गुरुङ, स्थानीय धर्म साउदेनलाई निको पारेका थिए । उनीहरूलाई निको पारेपछि थप मनोबल बढेको हो, उनले भने – “अहिलेसम्म औषधि खाएर रोग निको भएन, फेरि दिनुपर्यो भनेर एकजना पनि आएका छैनन् ।”
भारतको आग्र हस्पिटलले मृत्युको मुखमा पुगेर घर फर्काएका इलाम बरबोटेका एक युवाको उनले उपचार गरेर अहिले तन्दुरुस्त बनाएका छन् । बिहीबारे हटियामा दैनिक १० जनासम्म जन्डिसका रोगी आफूलाई कुरेर बस्ने गरेको उनी बताउछन् ।
रोगीका आफन्त घरमै बिरामी लिएर आउने गरेका छन् भने आफूकहाँ आउन नसक्ने रोगीकोमा आफैँ जडीबुटी लिएर जाने गरेको सापकोटा बताउछन् । उनले बनाएको जन्डिसको औषधि नेपालका काठमाडौँ, पोखरा, बुटवल, उदयपुर, पाँचथर, ताप्लेजुङलगायतका जिल्लादेखि भारत दार्जिलिङ, सिलीगुढी र मलेसिया, कतार, दुबई, साउदीअरबसम्म पठाउने गरेको आयुर्वेदिक पद्धतिमा लागेका सापकोटा बताउछन् ।
एकजना जन्डिस रोगीलाई रोग मुक्त बनाउन रु ३०० लिन्छन् । जन्डिस रोग लागेका बिरामीलाई जिल्लाभन्दा बाहिर कसैले औषधि पठाइमाग्दा कुरियरमार्फत पठाउने गरेको उनले बताए । सुर्खेतका दुई सैनिक जवान उदय राई र फडेन्द्र गुरुङलाई कुरियर गरेर औषधि पठाएर रोग निको पारेको उनले बताए ।
बुटवलका टीकाराम रिजाललाई कुरियरमार्फत जन्डिसको औषधि बनाएर पठाएका छन् । जन्डिससँगै पेटको उपचारमा घर गाउँका पाखा भित्तातिर पाइने जडीबुटीबाट औषधि बनाएर बिक्री गर्दै आम्दानीको राम्रो स्रोत बनाएका छन् ।
प्रदूषित पानी, अमिलो, पिरो, बासी सडेगलेका खानेकुरा र सदाबहार एकै प्रकारका खाना खानाले हुने जन्डिस उपचारमा सर्पगन्धा, विख्मालगायतका नौ प्रकारका जडीबुटी प्रयोग गर्दै आएको उनको भनाइ छ । जन्डिस निको पार्ने सापकोटा जिल्लामै एक्ला व्यक्ति हुन् । कालो, पहेँलोलगायतका विभिन्न प्रकारका जन्डिस निको पारिसकेको उनी बताउछन् । रासस
प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार १५:५८