काठमाडौं, १ फागुन । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले देशलाई एकताबद्ध बनाएर राजनीतिक स्थायीत्वको वाटोमा हिड्न आवश्यक रहको बताएका छन् । उनले यो बाटोमा हिड्नेहरु नै राष्ट्रबादी हुने औल्याएका छन् ।
डा.यादवले राजनीतिक स्थायीत्वको अभावमा देशले प्रगति गर्न नसक्ने पनि बताए । ‘चिन र भारतमा जस्तोसुकै राजनीतिक पद्दति भएता पनि राजनीतिक स्थायीत्व छ’ उनको भनाइ थियो ‘नेपालमा पनि अब राजनीतिक स्थायीत्वका लागि पत्रकारिता क्षेत्रले भूमिका खेल्न आबश्यक भएको छ ।’
काठमाडौंबाट प्रकाशन आरम्भ भएको ‘टोटल’ राष्ट्रिय मासिक म्यागेजिनको विमोचन गर्दै डा.यादवले पत्रकारिता क्षेत्रले देशलाई एकताबद्ध बनाउन सक्ने बताए । ‘राज्यका ५ अंग हुन्छन्’ उनले भने, ‘त्यसमध्यको चौथो अंग पत्रकारिता हो, पत्रकारिताले तथ्य पस्केर सबैलाई एकताको सन्देश दिनसक्नु पर्दछ ।’ उनले सबै राजनीतिक शक्तिहरुलाई एकताबद्ध भई संविधान कार्यान्वयनमा जोड दिन सुझाव पनि दिएका छन् ।
कार्यक्रमका विशिष्ट अतिथि पूर्व सूचना तथा सञ्चार मन्त्री डा.मिनेन्द्र रिजालले राष्ट्रिय एकता निर्माणका लागि पत्रकारिता क्षेत्रले ठूलो भूमिका खेल्न सक्ने बताए । उनले तथ्यमा आधारित सामग्रीहरु पस्केर राष्ट्र निर्माणको माहौल निर्माण गर्न पत्रकारिता क्षेत्रलाई सुझाव पनि दिए ।
त्यसैगरी पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरीले पत्रकारितामा रहेका चुनौतिलाई सामना गर्दै आफ्नो दायित्व निर्वाह गर्न तर्फ सबैको अग्रसरता आबश्यक भएको बताए ।
समिक्षात्मक मन्तव्य राख्दै राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले टोटल मासिकले सामाजिक र विकासका मुद्दाहरु उठाएको भन्दै त्यसको निरन्तरताको कामना गरे ।
पत्रकार महासंघका पूर्व अध्यक्ष तथा पत्रिकाका सल्लाहकार सम्पादक धमेन्द्र झाले सबैलाई पाच्य हुने र बहुलबादलाई स्वीकार्दै समाजको सम्पूर्ण पक्षको प्रतिबिम्बका रुपमा पत्रिका अगाडि बढ्ने बताए ।
टोटल म्यागेजिनका प्रकाशक सम्पादक मोतीलाल पौडेलको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण के.सी., सूचना विभागका महानिर्देशक विरबहादुर राई, पत्रकार महासंघका केन्द्रिय सदस्य शीतल महतो, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल लगायतले शुभकामना दिएका थिए भने कार्यक्रमको सहजिकरण विपुल पोख्रेलले गरेका थिए ।
प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार १७:५१