
काठमाडौँ, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले जनआन्दोलनका उपलब्धिलाई कुनै पनि हालतमा गुम्न नदिने बताए ।
पेरिस डाडाँस्थित नेकपा (माओवादी केन्द्र) को कार्यालयमा आज २२ औँ जनयुद्ध दिवसका अवसरमा आयोजना गरिएको सभामा उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री दाहालले भने, “जनआन्दोलनबाट प्राप्त उपलब्धि कुनै हालतमा पनि गुम्न दिइने छैन, जरुरी पर्यो भने अर्को बलिदानी गर्न पनि तयार हुनुपर्छ ।”
दलका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले जनआन्दोलबाट प्राप्त उपलब्धिको रक्षा र संविधानको कार्यान्वयन गर्न आगामी २०७४ माघ ७ गतेभित्र तीनवटै निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिँदै निर्वाचन हुन नसके मुलुकमा सङ्कट आइपर्ने बताए ।
संविधान परिमार्जन गर्न सकिने गतिशील दस्तावेज भएकाले सबैको हकअधिकार रक्षाका लागि त्यसलाई परिमार्जन गर्न सरकारले तयारी गरेको उनले उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले थपे, “माओवादीले थालेको युद्ध नै राष्ट्रलाई एकतावद्ध बनाउने ऐतिहासिक कदम हो । माओवादीले नै मधेस, पहाड र हिमाललाई मिलाउनसक्ने स्थितिमा छ, किनकि जनयुद्धमा यी सबैको बलिदानी छ ।”
उनले संसदमा तेस्रो पार्टी भए पनि परिर्वतनको रक्षा गर्ने, राष्ट्रलाई एकतावद्ध गर्ने र राष्ट्रिय स्वाधीनतालाई रक्षा गर्ने सन्दर्भमा अहिले पनि आफ्नो दल पहिलो नम्बरमै भएको जिकिर गरे ।
प्रधानमन्त्री दाहालले भने, “निर्वाचनमा पार्टीले हारे पनि देश विजयी हुनुपर्यो, तर जनयुद्धको मुद्दा र परिवर्तनलाई संस्थागत गर्न पार्टी विजयी हुनु पनि आवश्यक छ ।”
माओवादी क्रान्ति सफल हुँदै गएपनि पार्टी टुक्रिँदै जाँदा पार्टी कमजोर बन्दै गएको उल्लेख गर्दै उनले अर्को जनयुद्व दिवससम्म आइपुग्दासम्म सम्पूर्ण क्रान्तिकारी कम्युनिष्ट एक हुने विश्वास व्यक्त गरे ।
तत्कालीन माओवादीले २०५२ फागुन १ गते जनयुद्धको घोषणा गरेको थियो । अहिले बृहत् शान्ति सम्झौता भएको १० वर्ष पुगिसक्दा पनि जनआन्दोलनका बेपत्ता परिवारको सत्यतथ्य बाहिर आउन सकेको छैन र पीडितले राहत पनि पाउन सकेका छैनन । रासस
प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार १७:१२