कालीकोट, १ फागुन । ३१ बर्ष अघि निर्माण शुरु गरिएको कोटवाडा सुनथराली विमानस्थलमा शनिबार परिक्षण उडान गरिएको छ । कर्णालीबाट संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाही मन्त्री भए लगत्तै कोटवाडा विमानस्थलको निर्माण सम्पन्न गरी प्रयोगमा ल्याउने प्रतिबद्धता जनाएका थिए ।
कोटवाडा सुनथराली विमानस्थलमा शनिबार तारा यएरको ढल्(ब्द्यः ट्वीन्टर विमानले परिक्षण उडान गरेको हो । शनिबार कोटवाडा विमानस्थलमा तारा एयरका चालक सन्तोष शाहले विमान सफल अवतरण गराएका हुन् ।
शनिबारको परीक्षण उडानमा नागरिक उड्यन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्री, मन्त्रीको नीजि सचिवालयका सहायक प्रशासक दमनबहादुर शाहीलगायले नेपालगन्जदेखि कोटवाडामा अवतरण गरेका थिए ।
नवनिर्मित कोटवाडा विमानस्थलमा विमान अवतरणपछि सञ्चारकर्मीसंग विमान चालक सन्तोष शाहले विमानस्थलमा आवश्यक भौगोलिक बनावट उपयुक्त भएको भन्दै खुसी व्यक्त गरे । विमानस्थलमा विमान चालक शाह सहितको टोलीलाई विमानस्थलमा जम्मा भएका हजारौं स्थानीयबासीले फुलमाला र अविरले स्वागत गरेका थिए ।
पहिलो पटक विमान अवतरण हुने पूर्व जानकारी पाएका कालीकोटका स्थानीयबासी ठुलो संख्यामा जम्मा भएका थिए । विमान अवतरणपछिको स्वागत कार्यक्रममा बोल्दै नेपाल सरकार नागरिक उड्यन प्राधिकरणका उप महानिर्देशक राजकुमार क्षेत्रीले अब नियमित उडान भर्ने गरी औपचारिक उद्घाटन गरिने र बिमानस्थलको थप पूर्वाधार निर्माण गरि नियमित सञ्चालनमा ल्याइने बताए ।
नागरिक समाजका तर्फबाट बोल्दै रेडियो मालिका एफएम सञ्चालक समितिका अध्यक्ष मीनबहादुर बोगटीले विमानस्थलमा विमान परिक्षण उडानसँंगै स्थानीयबासीको बर्षौदेखिको जहाज चढ्ने धोको पूरा हुने बताए । विमानस्थल निर्माण भए पनि विमानस्थलमा बाटोको पहुँच नभएको भन्दै त्यसका लागि राज्यले तत्काल खुलालुदेखि एयरपोर्टसम्मको मोटर बाटो निर्माणका लागि बजेट विनियोजन गर्नुपर्नेमा वोगटीले जोड दिए । उनले कर्णालीकै नेता जीवनबहादुर शाही पर्यटन मन्त्री भए पछि देखाएको तत्परताले ३ दशकदेखि निर्माणाधिन विमानस्थलमा विमान अवतरण भए पनि यसको नियमितताका लागि पनि पहल गर्न आग्रह गरे ।
पर्यटन मन्त्री जीवन शाहीले माघ मसान्तभित्र परिक्षण उडान गर्ने प्रतिबद्धता जनाएका थिए । यस अघि पटक पटक गरी ३ पटक मन्त्री शाहीले विमानस्थलको निरिक्षण गरेका थिए ।
विमानस्थलको ६ सय ९० मिटर लम्बाई र ६० मिटर चौडाई स्टमेट भए पनि हाल ४० मिटर चौडाई र ५ सय ५० मिटर लम्बाई धावनमार्ग निर्माण सकिएको इन्जिनियर रत्नबहादुर श्रेष्टले बताए । विमानस्थल फागुन ११ गतेभित्र नियमित सञ्चालनका लागि पहल भइ रहेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार ०८:०७