बागलुङ, २९ माघ । दमेक–८ कि किसान टुल्की थापा सापकोटाको दैनिकी हिजोआज मेलापात र घरधन्दामा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा धान्ने टुल्कीको परिचय अहिले उद्यमीको रुपमा फेरिएको छ । पाँच वर्षअघि सुरु गरेको व्यावसायिक बाख्रापालनले उनलाई यथेष्ट आम्दानी दिन थालेको छ ।
हेफर इन्टरनेसनल नेपालको सहयोगमा दीपज्योति युवा क्लब, बागलुङले चलाएको परियोजनामा आबद्ध भएपछि टुल्कीको परिवारमा नसोचेको परिवर्तन आएको छ । क्लबले दिएका १२ वटा पैँचो बाख्राबाट उनले सुरु गरेको व्यावसायिक बाख्रापालन फस्टाएर अहिले वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
“मुख्य पेसा बाख्रापालन हो, राँगो, कुखुरा पनि छ”–टुल्कीले भनिन्, “योसँगै तरकारी उब्जाएर बेच्ने पनि गरेकी छु, आम्दानी राम्रो छ ।” उनका अनुसार पशुपालन र कृषिबाट वार्षिक रु चार लाखसम्म आम्दानी हुने गरेका छन् । सहयोगी व्यवसायको रुपमा मौरीपालन पनि गर्दै आएको उनले बताइन् ।
खरले छाएको सानो घर, थोरै जग्गा–जमिन भएर पनि टुल्की र उनको परिवार मेहनत र परिश्रमबाट टिकेको छिमेकीहरु बताउँछन् । “म मगरकी छोरी, ब्राह्मण समुदायको पतिसँग विवाह गर्दा ठूलो अपमान र दुव्र्यवहार सहनुपर्यो”–टुल्कीले भनिन्, “घरपरिवारले हामीलाई अलग्गै छुट्टयाए, ठूलो दुःख, पीडा झेल्यौँ ।”
उनका पति भैरवप्रसाद सापकोटा बच्चाको पालनपोषण र घरव्यवहार चलाउन नसक्ने अवस्था आएपछि रोजगारीका लागि भारत पनि पुगेका थिए । तर विदेशमा टिक्न नसकेपछि घरमै फर्केर मजदुरी गर्दै परिवार धानेको भैरवप्रसादले बताए । “श्रीमती मेलापात जाने गर्थिन्, म भारी बोक्न, हलो जोत्न जान्थें”–भैरवप्रसादले भने, “बिहान–बेलुकाको छाक टार्नै गाह्रो थियो, त्यसमाथि छोरीहरुलाई पढाउन झन् समस्या थियो ।” पछि, दमेकमा हेफरको परियोजना आएपछि समूहमा आबद्ध भएर टुल्कीले आफ्नो परिवारको नै मुहार फेरेकी हुन् ।
व्यवसायलाई उनका पति भैरवप्रसादले पनि पूर्ण रुपमा सघाउँदै आएका छन् । घरमा रहेका पाँच छोरीहरु पनि परिश्रमी छन् । “छोरीहरुको पढाइ–लेखाइ पनि राम्रो चलेको छ, घरव्यवहार गरेर बचत पनि गर्न थालेका छौँ”–टुल्कीले भनिन्। स्थानीय सिर्जना महिला समूहमा आबद्ध टुल्कीको गाउँकै सहकारीमा रु पाँच लाख बचत पनि छ । अहिले उनकोमा ३० वटा बाख्रा छन् । जसमध्ये आठ वटा ब्याउने छन् ।
हेफर परियोजनाले बाख्रापालनसम्बन्धी सीप, ज्ञान र प्रविधि सिकाएपछि टुल्की जस्ता दमेकका अन्य किसानले पनि व्यावसायिक सफलता पाएका छन् । हेफरको सहयोगमा दीपज्योति युवा क्लब, बागलुङले दमेकमा उद्यमशीलता प्रवद्र्धनमा काम गर्दै आएको क्लबका कार्यकारी निर्देशक तेजप्रसाद शर्माले बताए । रासस
प्रकाशित मिति: २९ माघ २०७३, शनिबार १५:४३