काठमाडौं, २८ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहकै निर्वाचन हुने बताएका छन् । उनले नयाँ संरचना अनुसार नै निर्वाचन हुने बताए ।
गाउँपालिका बनाउनु पर्ने माग लिएर शुक्रबार देउवा निवास पुगेका दैलेख जिल्लाका प्रतिनिधि मण्डललाई कांग्रेस सभापति देउवाले स्थानीय वासिन्दाको माग अनुरुप गाउँपालिका बनाउन आफु सकारात्मक भएको बताएको टोलीका सदस्य एवं दैलेख क्षेत्र नम्बर २ का कांग्रेस क्षेत्रीय सभापति घनश्याम भण्डारीले जानकारी दिए ।
ज्वालामालिका गाउँपालिका हुनु पर्ने माग लिएर दैलेख कांग्रेसका सभापति कृष्ण विसी लगायतको टोली शुक्रबार देउवा निवास पुगेको थियो ।
यसैबीच स्थानीय पुनर्संरचनामा तह छुटाएको भन्दै आन्दोलन गर्दै आएका इलाका नं. ७ का बासिन्दाले इलाका परिषद गर्ने जिल्ला विकास समितिको दोस्रो प्रयास असफल गरिदिएका छन् । राजनीतिक दल र स्थानीय विकास अधिकारी डिलाराम पन्थी सहितको टोली जिल्लाबाट शुक्रबार परिषद चलाउन इलाका नं. ७ पंैक पुगेको थियो ।
स्थानीय विकास अधिकारी परिषद चलाउन जिल्लाबाट गरेको खवर पाएपछि स्थानीयले परिषद स्थल देवी उच्च माध्यमिक विद्यालयको प्रांगडमा कालो झण्डा गाडेर परिषद चल्न नदिने संकेत गरेका थिए । परिषद चल्न दिनु पर्यो, तपाईंहरुको स्थानीय तहको मागका लागि हामी पहल गछौँ भन्ने स्थानीय विकास अधिकारीले अनुरोध गर्दा पनि स्थानीयले परिषद चल्न नदिई जिल्लाको टोलीलाई फर्काइ दिएका थिए ।
इलाका परिषद चलाउन माघ १३ गते पहिलो पटक गएको जिविसको टोलीलाई पनि स्थानीयले माइनुट थुतेर परिषद चल्न नदिएर फर्काइ दिएका थिए । इलाका नं.७ लाई ज्वालामालिका गाउँपालिका नबनाएसम्म परिषद चल्न र सरकारी कार्यालयका काम काज पनि चल्न नदिने गौरी ७ का मातृका लम्सालले बताए ।
पुनर्संरचना आयोगको मापदण्ड अनुसार पहिलो चरणमा स्थानीय तह जिल्ला प्राविधिक समिति दैलेखले आठ स्थानीय तह सिफारिस गर्दा सिफारिस भएको ज्वालामालिका गाउँपालिकालाई दोस्रो पटक ११ स्थानीय तह वनाउँदा कटाइएपछि इलाका नं. ७ का वासिन्दा अन्यायमा परेको हुनाले सरकारले पुनर्विचार गर्दिनु पर्ने मालिका २ का मानवहादुर शाहीले बताए ।
दोस्रो पटक इलाकालाई पनि एक आधार मान्ने भनेर पुनर्संरचना आयोगले दैलेखलाई ८ वटा तिन तह थपेर ११ स्थानीय तह सिफारिस गर्न जिल्ला प्राविधिक सहयोग समितिलाई जिम्मेवारी दिएको थियो । इलाकालाई आधार मान्ने मापदण्ड आएर सहज भएको वेला पहिलो ८ तहमा सिफारिस भएको इलाका नं.७ को ज्वालामालिका गाउँपालिकालाई ११ बनाएर सिफारिस गर्दा छुटाइदिएको गौरी, कालभैरव र मालिका गाविसका स्थानीय आन्दोलनमा छन् ।
गाउँपालिकाको माग राख्दै आएका स्थानीयले जिल्ला स्थित राजनीतिक दलका गतिविधि समेत इलाका प्रवेशमा निषेध गरेका छन् । कांग्रेसको इलाका स्तरीय कार्यक्रम समेतमा स्थानीयले अवरोध गरेपछि जिल्ला स्थित क्रियाशिल राजनीतिक दल बसेर ज्वालामालिका गाउँपालिका कायमका लागि सरकार र आयोगमा अनुरोध गर्ने निर्णय गरेका थिए ।
प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार १८:२६