खोटाङ, २४ माघ । जिल्ला शिक्षा कार्यालय खोटाङले जिल्लामा सञ्चालित तीन सय ५० वटा विद्यालयको खाता रोक्का गरेको छ । व्यवस्थापन समिति गठन नगर्ने, सामाजिक लेखा परीक्षण नगराउने र बेरुजु फछ्र्योट नगर्ने विद्यालयको खाता रोक्का गरेको हो ।
तोकिएको मापदण्ड पूरा गर्नासाथ रोक्का गरिएको विद्यालयको खाता फुकुवा गरिने जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए । “जिल्लाका विद्यालय मनपरी तरिकाले सञ्चालन गरिएको छ”, उनले भने, “कम्तीमा नियमअनुसार सञ्चालन होस् भनेर विद्यालयको खाता रोक्का गरिएको हो ।”
विद्यालयको खाता रोक्का गरेपछि रोक्कामा परेका विद्यालयमा काम गर्ने शिक्षकले तीन महिनादेखिको तलब खान पाएका छैनन् । जिल्लामा प्रावि, निमावि र मावि गरी चार सय ९० वटा विद्यालय सञ्चालनमा रहेका छन् ।
शिविरमा एक सय ४० जनाको उपचार
नेपाली सेनाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक सय ४० जनाले सेवा लिएका छन् । खोटाङको शेरगण मुडे ब्यारेकले आइतबार दिक्तेल नगरपालिका–९ स्थित सुर्केडाँडा निमाविमा सञ्चालन गरेको शिविरमा विद्यार्थी, शिक्षक र अभिभावकले निःशुल्क सेवा लिएका हुन् ।
गणका सेनानी अर्थजङ्गबहादुर सिंको नेतृत्वमा सञ्चालित शिविरमा उपचारका लागि आएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको जनाइएको छ । रासस
प्रकाशित मिति: २४ माघ २०७३, सोमबार ११:२९