काठमाडाै २३ माघ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ वटा वाणिज्य बैंकहरुले कुल १० अर्ब रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो करिब ५१ प्रतिशतले बढी हो । ०७२ पुुसमा ती बैंकहरुको कुल खुद मुनाफा ६ अर्ब ६४ करोड रुपैयाँ थियो । शनिवारसम्म दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका १३ वटा वाणिज्य बैंकहरुको मुनाफा जोडेर खुद मुनाफा निकालिएको हो । उक्त अवधिमा बैंकहरुले आक्रामक रुपमा लगानी विस्तार गरेकाले मुनाफामा टेवा पुगेको हो ।
अर्थतन्त्रका अन्य क्षेत्रहरुको तुलनामा वित्तीय क्षेत्र पारदर्शी र विकसित छ । सोही कारण असहज परिस्थितीमा पनि राम्रो मुनाफा कमाउदै आएको छ । यो क्षेत्रलाई न त १० वर्षे द्वण्द्वले छोएको छ, न त भुकम्प र नकाबन्दीले नै ।
जस्तो सुकै परिस्थितीमा पनि यो क्षेत्रले राम्रो मुनाफा आर्जन गर्दै आएको छ । ‘बैकिङ पारिदर्शी र पूर्ण रुपमा नियामक निकायको निर्देशन पालना गर्ने क्षेत्र हो । यस कारण यो क्षेत्रको वृद्धिदर केही दिगो देखिएको छ,’ एक बैंकरले भने,‘ यद्यपि पछिल्लो समयमा सेयर धनीको प्रतिफल भने घटेको छ ।’
राष्ट्र बैंकबाट पुँजी वृद्धिको निर्देशन पछि अधिकांश बैंकहरुले चुक्ता पुँजी बढाएका छन् । पुँजी वृद्धिपछि बैंकहरुलाई व्यवसाय (लगानी) बढाउन दबाब पुग्यो । परिणाम ऋण प्रवाह बढ्यो । लगानी बढेपछि मुनाफा पनि बढेको बैंकरहरुले बताएका छन् । उक्त अवधिमा बैंकहरुको व्यवसाय विस्तार भएकाले मुनाफा पनि बढेको बैंकर्स संघका पुर्व अध्यक्ष राजनसिंह भण्डारीले बताए । ‘बैंकहरुले ऋणमा ब्याजदर बढाएर मुनाफा बढाएका होइनन । ब्याजदर घटाएर भएपनि लगानी बढाएर मुनाफा बढाएका हुन,’ उनले भने, ‘तर पुँजी वृद्धिको तुलनामा लगानी विस्तार हुन सकेको छैन ।’
बढेको पुँजी अनुसार मुनाफा बढ्न नसकेपछि सेयरधनीको प्रतिफल (आरओई) घटेको उनले जनाए । उनले भने, ‘यस कारण दोस्रो त्रैमासमा प्राय: सबै बैंकहरुको आरओई घटेको छ ।’
उक्त अवधिमा प्राय: सबै बैंकहरुको मुनाफा उल्लेख्य रुपमा बढेको देखिन्छ । ती मध्ये पनि नेपाल इन्भेष्टमेण्ट, प्रभु र हिमालयलन बैंकको मुनाफा १ अर्ब रुपैयाँ भन्दा बढी छ । अर्ब रुपैयाँ भन्दा बढी मुनाफा कमाउने बैंकहरुमध्ये पनि प्रमु बैंकले सबैभन्दा बढी (१ सय ७४ प्रतिशत) ले मुनाफा बढाएको छ । ०७२ पुसमा ४० करोड रुपैयाँ कमाएको यो बैंकले चालू आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
वित्तीय विवरण सार्वजनिक भएका १३ वटा बैंकमध्ये सबैभन्दा धेरै मुनाफा इन्भेष्टमेण्ट बैकले कमाएको छ । दोस्रो त्रैमासमा यो बैंकको खुद मुनाफा १ अर्ब ५८ करोड रुपैयाँ छ । ०७२ पुसको तुलनामा बैंकको मुनाफा करिब ४७ प्रतिशतले बढाएर १ अर्ब ११ करोड रुपैयाँ पुर्याएको छ । यस्तै, हिमालयन बैंकको मुनाफा पनि २८ प्रतिशतले बढेर १ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।
यसैगरी, सिटिजन्स् बैंकको मुनाफा ८३ प्रतिशतले, बैंक अफ काठमाण्डू लुम्बीनीको ८२ प्रतिशतले, मेगाको ६५ प्रतिशतले र सानिमाको ५२ प्रतिशतले बढेको छ । बाँकी सिद्धार्थ, एनआईसी एसिया, प्राइम, नेपाल बंगलादेश, लक्ष्मी र सञ्चुरी बैंकको मुनाफा पनि उल्लेख्य रुपमा बढेको छ । उक्त अवधिमा अधिकांश बैंकहरुको निक्षेप संकलनको तुलनामा ऋण प्रवाह धेरैले बढेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ५ महिनामा बैंकहरुको ऋण प्रवाह ३० प्रतिशतले र निक्षेप संकलन २० प्रतिशतले बढेको छ । निक्षेप वृद्धिको तुलनामा ऋण प्रवाह बढी भएकै कारण बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम(तरलता) अभाव भएको थियो । परिणाम मुद्दती निक्षेप ब्याज करिब तीन गुणा बढी र कर्जाको ब्याजदर ३ देखि ४ प्रतिशतले बढेको छ ।
दोस्रो त्रैमासमा अधिकांश बैंकको सेयरमा प्रतिफल(आरओई) घटेको छ । यसका अर्थ बैंकमा एक सय रुपैयाँ लगानी गर्दा त्यो पैसाले कति रुपैयाँ कमाउन सक्छ भन्ने हो । बैंकको खुद मुनाफालाई कुल सेयर संख्याले भाग गरी यस्तो अनुपात निकालिन्छ । पछिल्लो बैंकको चुक्ता पुँजी बढेको तुलनामा मुनाफा नबढेकाले आरओई घटेको विश्लेषकरुको तर्क छ । बाकी १५ बैंकले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छैनन् ।
प्रकाशित मिति: २३ माघ २०७३, आईतवार ०८:०६