दमक, २० माघ । आफ्ना दिवङ्गत पितृको स्मृतिमा झापाको गौरादह–१ स्थित मोति माध्यमिक विद्यालयमा एकजना दाताले अक्षयकोषको स्थापना गरेका छन् ।
विद्यालयका पूर्वप्रधानाध्यापक धनपति दङ्गालले आफ्ना पिता विष्णुलाल र माता छलमायाको स्मृतिमा रु दुईलाख एकहजार एकसय ११ राशिको कोष स्थापना गरेका हुन् । दाता दङ्गालले बुधबार सरस्वती पूजाको अवसर पारेर विद्यालयमा उक्त कोष राख्नुभयो ।
चार दशक लामो शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका दङ्गालले कोषबाट हरेक वर्ष उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने बताउनुभयो । सो कोषबाट प्रत्येक वर्ष जेहेन्दार र उत्कृष्ट अङ्क ल्याउने चारजना छात्रछात्रासँगै दुईजना शिक्षकलाई पुरस्कृत गरिने उनले बताए । दङ्गाल परिवारले यसअघि विद्यालय परिसरमा सरस्वतीको मन्दिर निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको थियो ।
शिक्षिकाद्वारा मन्दिर निर्माण
यसैगरी, दमक–१५ स्थित पाणिनी माध्यमिक विद्यालयकी शिक्षिका दुर्गा काफ्लेद्वारा निर्मित सरस्वती मन्दिरको बुधबार उद्घाटन गरिएको छ ।
सरस्वती पूजाको अवसर पारेर विद्यालयमा निर्मित सरस्वती मन्दिरको झापाका जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले उद्घाटन गरेका थिए । काफ्लेले व्यक्तिगत रुपमा रु साढे आठ लाखको लागतमा सो मन्दिर निर्माण गरेका हुन् ।
सोही विद्यालयमा अध्यापन गराउँदै आएकी काफ्लेले यसअघि पनि विद्यालयका विद्यार्थीका लागि विभिन्न किसिमका सहयोग गर्दै आउनुभएको विद्यालयका प्रधानाध्यापक टीकाराम भण्डारीले बताए ।
विद्यालयका निवर्तमान अध्यक्ष पर्शुराम रिजालको सभापतित्वमा भएको कार्यक्रममा दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र ढकाल, दमक नगरपालिकाका सामाजिक शाखा प्रमुख डम्बर बराल, विद्यालय निरीक्षक सुरेन्द्र दाहाल, स्रोतव्यक्ति गणेशप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो । रासस
प्रकाशित मिति: २० माघ २०७३, बिहीबार ०८:०४