काठमाडौं, १८ माघ । लामो समयदेखिको संवादहीनताको अन्त्य गर्दै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरूका सहसचिवहरू काठमाडौंमा भेला हुने भएका छन् । १९–२० माघमा काठमाडौंमा सार्कको प्रोगामिङ कमिटीको बैठक तय भएको छ ।
पाकिस्तानमा हुने भनिएको १९औं सार्क सिखर सम्मलन स्थगित भएको तीन महिनापछि पहिलोपटक सार्क देशहरूका सहसचिव स्तरीय बैठक काठमाडौंमा हुन लागेको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलका अनुसार १–२ फेब्रुअरीमा काठमाडौँमा सार्कको प्रोग्रामिङ कमिटिको बैठक तय भएको छ । इस्लामाबादमा हुने भनिएको १९औं सार्क सिखर सम्मेलनको स्थगनपछि पहिलोपटक सार्क देशका प्रतिनिधिहरू एक ठाउँमा भेला हुन लागेका हुन् ।
२४–२५ कात्तिक (९ र १० नोभेम्बर) मा पाकिस्तानको स्लामाबादमा तय भएको सार्क सिखर सम्मेलन भारतले सहभागी नहुने घोषणा गरेपछि स्थगित भएको थियो । भारतले सहभागी नहुने जनाएसँगै अफगानिस्तान, भुटान, बंगलादेश र श्रीलंकाले समेत सहभागी नहुने बताएका थिए । भारतले १८ सेप्टेम्बरमा कास्मिरको उरीमा भारतीय सैनिकको बेस क्याम्पमाथि आक्रमण भएसँगै भारतले पाकिस्तानमा हुने सम्मेलनमा सहभागी नहुने जनाएको थियो । १९ सैनिकको मृत्यु हुने गरी भएको आक्रमण पाकिस्तानले गरेको भारतले आरोप लगाउँदै आएको छ ।
यसअघि गत वर्ष १–२ चैतमा पोखरामा सार्कको प्रोग्रामिङ कमिटीको बैठक सम्पन्न भएको थियो भने ३ चैतमा स्थायी समितिको बैठक बसेको थियो । त्यस्तै, ४ चैतमा पोखरामै सार्क मन्त्रिपरिषद्को बैठक बसेको थियो । त्यसयता सार्कस्तरीय छलफल तथा बैठकहरू हुन सकेका थिएनन् । बुधबार र बिहीबार राजधानीमा हुने बैठकमा सार्क सदस्य राष्ट्रहरूले सार्क सचिवालय र सार्कका पाँच क्षेत्रीय केन्द्रहरूको बजेटमाथि छलफल गर्ने सार्क सचिवालयले जनाएको छ ।
पाकिस्तानमा हुने शिखर सम्मेलन भारतसहित चार सदस्य राष्ट्रहरूले सहभागी नहुने जनाएपछि सार्कको अध्यक्ष राष्ट्रको हैसियतले नेपालले पाकिस्तानको इस्लामाबादमा हुने भनेको १९ सार्क शिखर सम्मेलन स्थगित गरेको थियो । स्थगित सार्क शिखर सम्मेलन सञ्चालनका लागि सार्कका महासचिव अर्जुनबहादुर थापा सार्क देशमा छलफलमा हिँडेका छन् ।
यसैबीच, पाकिस्तानले स्थगित सार्क सम्मेलन गर्नका लागि चासो देखाएको छ । सार्कका महासचिव थापासँगको भेटमा पाकिस्तानी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिजले सिखर सम्मेलन गर्नका लागि पाकिस्तान तयार रहेको बताएका थिए । ‘पाकिस्तान १९औं शिखर सम्मेलनको आयोजना गर्न प्रतिबद्ध छ,’ उनले भनेका छन् ।
भेटमा महासचिव थापाले सम्मेलन जतिसक्दो छिटो हुने विश्वास व्यक्त गरेका थिए ।यसैबीच, भारतले १८–१९ फेब्रुअरीमा भारतको इन्डोरमा आयोजना गर्न लागेको इन्टर पार्लियामेन्ट्री युनियनको सम्मेलनमा पाकिस्तानले सहभागिता नजनाउने भएको छ । सार्क सदस्य राष्ट्रहरूसहितका सभामुखहरूको सम्मेलनमा पाकिस्तानले सहभागिता नजनाउने भएको हो । यसअघि सन २०१५ मा पाकिस्तानले इस्लामाबादमा आयोजना गरेको कमन बेल्ट पार्लियामेन्ट्री युनियनको बैठकमा भारतले सहभागिता जनाएको थिएन । सभामुखहरूको सम्मेलनमा यस क्षेत्रको दिगो विकास लक्ष्य प्राप्तिका विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: १८ माघ २०७३, मंगलवार ०७:१३