काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रेस स्वतन्त्रता र लोकतन्त्र एउटै मानिसका दुई पाइला भएकाे बताएका छन् । उनले भने– जुन एकपछि अर्को तर सँगसँगै चल्दछन् । यो शास्वत सत्यलाई हामी सबैले बुझेका छौं ।
देशको पहिलो र पुरानो टेलिभिजन, नेपाल टेलिभिजन ३२ बर्ष पूरा गरी ३३ औं वर्षमा प्रवेश गरेको अवसरमा मन्तव्य दिंदै प्रधानमन्त्री दाहालले नेपाल टेलिभिजनका साथै सबै सञ्चार माध्यमहरुले थप सम्वेदनशील र जिम्मेवार भएर रचनात्मक र सकारात्मक भूमिका निर्वाह गर्ने अाफुले अपेक्षा गरेकाे बताएका छन् । उनले लोकतन्त्रको मूल्य र मान्यताअनुसार सञ्चार माध्यमहरुको निष्पक्षता र सम्पादकीय स्वतन्त्रताको राज्यले सधैं सम्मान गर्ने बताए ।
प्रधानमन्त्री दाहालले वर्तमान सरकार संविधान संशोधन गरी यसको स्वीकार्यता फराकिलो बनाई आगामी १ वर्षभित्रै तीनै तहको निर्वाचन गर्ने अठोटका साथ अगाडि बढिरहेको समेत जानकारी दिएका छन् । सरकारले तय गरेको साे लक्ष्यलाई प्राप्त गर्न राष्ट्रिय प्रशारण संस्था, नेपाल टेलिभिजनको महत्वपूर्ण भूमिका रहने उनले उल्लेख गरेका छन् ।
सञ्चार माध्यम सरकार र सामान्य नागरिकबीच सम्वाद स्थापित गर्ने माध्यम भएकाले नेपाल टेलिभिजनले अब सिंहदरवार र सीमान्त वर्ग, क्षेत्र र समुदायबीचको सम्वादका लागि सम्वाहक बन्नु पर्ने प्रधानमन्त्रीले बताएका छन् । उनले संविधान कार्यान्वयनका लागि सरकारका तर्फबाट भइरहेको इमान्दार प्रयास र निर्वाचन सम्पन्न गने क्रममा नेपाल टेलिभिजनले आफ्नो स्थापित ब्राण्डलाई कायम राख्दै अागाडि बढ्नु पर्ने बताएका छन् ।
वि.सं.२०४१ सालमा आजकै दिन अर्थात् माघ १७ गतेबाट परियोजनाका रुपमा स्थापना भई २०४२ साल पुसबाट नियमित प्रशारण शुरु गरेको नेपाल टेलिभिजनले सूचना प्रवाहमा तीन दशक भन्दा लामो यात्रा तय गरेको छ । यस बीचमा मुलुकले समेत तीन भिन्न प्रकारका शासन व्यवस्थाको अभ्यास गरेको छ । त्यस अर्थमा नेपाल टेलिभिजन पछिल्ला तीन दशकमा भएका सवै परिवर्तनको साक्षी हो भन्न सकिन्छ । भन्ने कुरा प्रधानमन्त्री दाहालले अाफ्नाे मन्तव्यमा उल्लेख गरेका छन् ।
अब विगतबाट पाठ सिक्दै आगामी दिनका चुनौतीलाई अवसरमा बदल्दै परिवर्तनबाट प्राप्त उपलव्धिलाई संस्थागत गर्नु हामी सबैको दायित्व भएको भएकाे उल्छलेख गर्दै प्रधानमन्त्री भनेका छन्–मुलुकमा नयाँ संविधान जारी भई हामी संविधान कार्यान्वयनको चरणमा छौं । संविधानको कार्यान्वयनको प्रमुख पक्ष संघीयताको कार्यान्वयन भएको सन्दर्भमा यसलाई सारभूत रुपमा कार्यान्वयन गर्न विद्यमान संरचनालाई संविधानमा व्यवस्था गरिएअनुरुप तल्लो तहमा अधिकार लैजाने गरी रुपान्तरण गर्नु आवश्यक छ ।
यसै सन्दर्भमा नेपाल टेलिभिजन पनि संघीय स्वरुप अनुसारको संरचनामा जान थालेकोमा मलाई खुशी लागेको प्रधानमन्त्री दाहालले बताएका छन् । उनले भने–मध्य र सूदुर पश्चिममा प्रशारण विस्तार गर्न पुनःसंचालित बाँकेको कोहलपुरस्थित क्षेत्रीय प्रशारण केन्द्रको परिक्षण प्रशारणको मैले भर्खरै मात्र शुभारम्भ गरेको छु । पूर्वाञ्चलको इटहरीमा क्षेत्रीय प्रशारण सुरुवात गर्नका लागि भवन निर्माणको कार्य र सबै प्रदेशमा प्रशारण बिस्तारको गृहकार्य भइरहेको जानकारी पाउँदा खुशी लागेको छ ।
यसैगरी २०७२ सालमा आएको भूकम्पका कारण भएको क्षति र प्रशारणमा आइपरेको अप्ठेरोलाई महशुस गर्दै कोहलपुर र इटहरीलाई विपद् व्यवस्थापन र वैकल्पिक प्रशारण केन्द्रको रुपमा समेत सञ्चालन गर्ने तयारी भइरहेको कुरा जानकारी पाउँदा थप खुशी र गर्वको अनूभूति भएको प्रधानमन्त्री दाहालले जनाएका छन् ।
प्रकाशित मिति: १७ माघ २०७३, सोमबार १४:३७