पर्वत, १५ माघ । बाँझो जग्गाको उपयोग गर्दै पर्वतको दुर्गम भोक्सिङ गाउँका कृषकले रु दुई करोडको लागतमा अलैँचीको व्यावसायिक खेती सुरु गरेको छ ।
गाउँका युवा विदेश पलायन भएपछि बाँझो जग्गाको उपयोग गरेर आयआर्जन गर्ने उद्देश्यले कृषकले गाउँमै सामूहिक फर्म खोलेर व्यावसायिक खेतीको सुरुवात गरेको हो ।
गाउँमै भोक्सीङ बहुउद्देश्यीय कृषि तथा बाख्रापालन समूहले उपयोग विहीन बनेको पाखोमा अलैँचीखेती सुरुवात गरेका हुन् । अहिले कृषकले बिरुवा रोपेको दुई वर्षमा उत्पादन समेत सुरु गरिसकेका छन् ।
एक हजार ५०० रोपनी क्षेत्रफलमा स्थानीय ३० जना कृषकले खेती सुरु गरेका हुन् । गाउँ छाडेर सहर जाने लहर चलेका कारण खालिभएको पाखो र बाँझो जग्गाको उपयोग गरेर फर्म सञ्चालन गरिएको समूहका सदस्य नारायण गुरुङले जानकारी दिए ।
अहिले ५०० रोपनीमा अलैँचीखेती गरिएको छ उनले भने–“आगामी वर्ष एक हजार ५०० रोपनी जग्गामा बिरुवा रोप्नका लागि तयारी गरेका छौ । समूहले अहिले प्रतिव्यक्ति रु पाँच लाख सङ्कलन गरेर काम सुरु गरेको गुरुङले बताए ।
अहिलेसम्म अलैँचीखेतीमा रु दुई करोड बढी लगानी गरिसकेका छौंँ उनले भने– अलैँचीको व्यावसायिक उत्पादन सुरु भएपछि यसबाट वार्षिक रु दुई करोड कमाउने लक्ष्य लिएको छ ।
यस वर्ष एक लाख बिरुवा रोप्ने गरी जग्गाको तयारी भएको छ । यसका लागि नर्सरीमा बिरुवासमेत उत्पादन गरिसकेको कृषक बताउँछन् ।
जिल्ला कृषि विकास कार्यालय पर्वतका प्रमुख वासुदेव रेग्मीले बिरुवा रोप्न र प्रशोधन गर्नका लागि कार्यालयले आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराएको बताए ।
पर्वतमा परम्परागत रुपमा केही ठाउँमा अलैँचीखेती गरिएको भए पनि हालसम्म व्यावसयिक खेती नभएको बताउँदै प्रमुख रेग्मीले भने— कार्यालयले यस वर्षदेखि जिल्लाका अन्य सम्भावित ठाउँमा समेत यसको खेतीका लागि कृषकलाई सहयोग गर्ने कार्यक्रम छ । रासस
प्रकाशित मिति: १५ माघ २०७३, शनिबार १७:२०