काठमाडौँ, १५ माघ । नववर्ष नेपाल सम्वत् ११३७ को उपलक्ष्यमा लहना मिडियाले शुक्रबार साँझ एक सांस्कृतिक कार्यक्रमको आयोजना गरी प्रसिद्ध गायक प्रेमध्वज प्रधानलाई विशेष सम्मान प्रदान गर्यो ।
‘युएफओ भिन्तुना सनिल’ नाम दिइएको उक्त सांस्कृतिक कार्यक्रममा गायक प्रधानले आफूले विसं २०२१÷२२ तिर भारत गएर रेकर्ड गराएका नेपाल भाषाका केही गीत दर्शकसामु पस्केका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, समाजसेवी लक्ष्मीदास मानन्धर र कलाकार भृगुराम श्रेष्ठले गायक प्रधानलाई दोसल्ला ओढाई सम्मान गरेका थिए ।
गायक प्रधानलाई युएफओ क्लथिङ स्टोरका तर्फबाट रु ५१ हजार १११ रुपैयाँको चेक पनि प्रदान गरिएको थियो ।
प्रेमध्वज सङ्गीत प्रतिष्ठान स्थापनार्थ यो कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था लहना मिडियाले जनाएको छ ।
उक्त कार्यक्रममा जेम्स प्रधान, भीम तुलाधर, निशा देसार, सुरजवीर बज्राचार्य, एञ्जिला सिंह, आराध्यलक्ष्मी खड्गी, सुलिन्द्र शाक्य, अन्जन श्रेष्ठ, पङ्कज राजोपाध्याय र भूपेन्द्र बज्राचार्य, ज्योति घिमिरे र निशान्त गौतमले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
प्रेमध्वज प्रधानको जन्म सन् १९३८ जुन ६ मा चौतारा सिन्धुपाल्चोकमा भएको हो । नेपाली र नेपाल भाषाका दशवटा चलचित्रमा गाएका प्रधान नेपाली सुगम सङ्गीतका अग्रज कलाकार मानिन्छन् ।
उनले गाएको नेपाल भाषाको ‘बालाबालाचिंगु मिखाः’ नेपालको गायन क्षेत्रकै पहिलो एक एन्ड रोल गीत भएको मानिएको छ ।
भारतीय कलाकारहरुबाट ‘गोल्डेन भ्वाइस अफ नेपाल’ विशेषण पाएका कलाकार प्रधानका नेपाली भाषामा ‘ऐना नभए’ ‘गोरेटो त्यो गाउँको’ जस्ता थुप्रै कर्णप्रिय गीतहरु रहेका छन् । नेपाल भाषाको ‘राजमति कुमति’ उनको पहिचान स्थापित गर्ने अर्को गीत हो ।
सम्मानपत्र प्रदान गर्दै मन्त्री शाहीले प्रेमध्वज सङ्गीत प्रतिष्ठान स्थापनाका लागि आफ्नो तर्फबाट सक्दो पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरे ।
सम्मानित गायक प्रधानले अरु विधाका कलाकारहरुलाई पनि सम्मान गर्दै जाने परम्परा बसाल्नुपर्ने सुझाव दिए । रासस
प्रकाशित मिति: १५ माघ २०७३, शनिबार १२:१०