इलाम, १२ माघ । माइमझुवा–२ का शुक्रराज राईलाई गाईबस्तुलाई सोत्तरका रूपमा प्रयोग गरिँदै आएको लौठसल्ला बिक्री गरेर मनग्य आम्दानी गर्न सकिएला भन्ने कहिल्यै लागेको थिएन् । सधैँ गाईबस्तुलाई सोत्तर लगाइने लौठसल्ला महँगो मूल्यमा बिक्री हुन्छ भन्ने थाहा नपाए पनि त्यही लौठसल्लाले उनलाई आज लखपति बनाएको छ ।
एक दशकअघिसम्म लेकाली क्षेत्रमा हुने आलु, मकैलगायत परम्परागत बाली लगाएर मुस्किलले वर्ष दिनको गुजारा चलाउँदै आएका शुक्रराजले लौठसल्लाको बिक्रीबाट यस वर्ष रु छ लाख आम्दानी गरे ।
क्यान्सरको औषधिको कच्चा पदार्थका रूपमा लिइने लौठसल्लाको खेती गर्ने लहर चलेपछि जे परे पर्ला भनेर १०५ रोपनी जग्गामा लौठसल्ला रोप्नु भएका उनलाई लौठसल्लाले लखपति बनाएको हो । “गाउँका धेरै साथीभाइले लौठसल्लाको व्यावसायिक खेती गर्दा पनि आफूलाई अत्तोपत्तो थिएन,” उनले भने– “लौठसल्लाबाट नसोचेको आम्दानी भएको छ । अघिल्लो वर्ष रु पाँच लाखको लौठसल्ला बिक्री गरे ।”
लौठसल्लाको पातबाट मात्र होइन, राईले बिरुवा बेचेर पनि मनग्य आम्दानी गर्छन् । गत वर्ष ३५ हजार बोट लौठसल्लाको बिरुवा बिक्री गरेर रु दुई लाख कमाए । लौठसल्लाको पात प्रतिकिलो रु २० र बिरुवा रु १५ मा बिक्री भएको उनले बताए ।
माबुका किसान डुलबहादुर राईले पनि लौठसल्लाबाट यथेष्ट आम्दानी गरिरहेका छन् । चिराइतोमा रोग देखिनु र मिसावटका कारण बिक्न छोडेका बेला लौठसल्लाले किसानलाई राहत दिएको छ । पूर्वी पहाडी जिल्लामा लामो समयदेखि औषधिजन्य लौठसल्लाको खेती गरिएको भए पनि भर्खरै मात्र यसको किनबेच सुरु भएको छ ।
करिब २५ वर्षदेखि लौठसल्लाको खेती गर्दै आएका माइपोखरी–८ का जगत राई ७० रोपनी जमिनमा व्यावसायिक रुपमा खेती गर्दै आएका छन् । उहाँ बर्र्सेनी रु तीन लाखदेखि रु चार लाख बिक्री गर्छन् । यहाँका अधिकांश किसानले लौठसल्ला बुटवलस्थित माछापुच्छ्रे लौठसल्ला प्रशोधन कारखाना र नेचुरल हर्बल कम्पनीमा पठाउने गरेका छन् ।
व्यावसायिक खेती बढिरहेको भए पनि लौठसल्ला बेच्न सहज छैन । सुकेको पात मात्र कम्पनीले किन्ने गरेको छ । सुलुबुङ, जमुना, जोगमाई, चमैता, माईपोखरी, मावु नयाँबजार, पुवामझुवालगायत गाविसका चार हजारभन्दा बढी किसानले लौठसल्लाको व्यावसायिक खेती गरिरहेका छन् ।
रासस
प्रकाशित मिति: १२ माघ २०७३, बुधबार १३:२२