एजेन्सी १२ माघ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षित गर्भपतन एवं परिवार नियोजन सम्बन्धी विदेशी सहयोगमा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका छन्। यसले नेपाल समेत प्रभावित बन्ने देखिएको छ।
पदभार ग्रहण गरेको दोस्रो दिन, लाखौं महिलाहरुले प्रर्दशन गरेको पृष्ठभुमिमा सोमबार ट्रम्पले महिला अधिकारको महत्वपूर्ण एजेण्डा मानिने गर्भपतन एवं परिवार नियोजन सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग रोक्ने गर्ने आदेश दिएका हुन्। यस्तो व्यवस्था सन १९८० को दशकमा सामाजिक एजेण्डामा निकै अनुदार मानिएका रोनाल्ड रेगनको शासनकालमा थियो।
सन् १९८४ मा मेक्सिको सिटीमा आयोजित राष्ट्रसंघीय जनसंख्या सम्मेलनमा रेगनले गर्भपतन एवं परिवार नियोजन सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग बन्द गर्ने घोषणा गरेका थिए । यद्यपी डेमोक्रयाटिक पार्टी नियन्त्रित सरकारले यस्तो प्रतिबन्ध माथि फुकुवा गर्दै आएको थियो । ओबामा प्रशासनले धेरै हदसम्म यस प्रति उदार नीति अख्तियार गरेको थियो।
यसअघि नै अमेरिकी कानुनले अमेरिकी सहयोगको रकमबाट कुनैपनि विदेशी मुलुकमा गर्भपतन सम्बन्धी खर्च गर्न नपाईने व्यवस्था गरेपनि सोमबार ट्रम्पको आदेशले थप कडाई गरेको छ।
आदेश अनुसार सुरक्षित गर्भपतन एवं सो सम्बन्धी कुनै खाले योजनाका लागि गैरसरकारी संस्थालाई दिइने रकम बन्द गरिएको छ । ट्रम्प एवं उपराष्ट्रपति माईक पेन्स, दुवै चुनावी अभियानमा गर्भपतन विरुद्ध प्रस्तुत हुँदै आएका थिए।
सोमबारको कार्यकारी आदेशले नेपाललगायतका विकासोन्मुख मुलुकहरुमा अमेरिकी सहयोगमा चलिरहेका परिवार नियोजन, गर्भपतन सम्बनधी कार्यक्रमहरु बन्द हुने छन् । यसअघि नै जर्ज बुसको कार्यकालमा कडा शर्तका कारण नेपाललगायत केन्या, ईथोपियाले परिवार नियोजन सम्बन्धी केही कार्यक्रमहरु गुमाएको इन्टरनेशनल प्लान पारेन्टहुडले जनाएको छ।
अमेरिकी सहयोग नियोग युएसआईडीले स्वास्थ्थ क्षेत्रमा साढे तीनअर्ब वर्षेनीखर्च गर्दै आएको छ। कान्तिपुर दैनिकमा खबर प्रकाशित छ। ट्रम्पको निर्णयले नेपालले पाउदैं आएको एक करोड डलरको सहयोग रोकिने छ । यसबारेमा डिसीस्थित नेपाली दूतावासले कुनै टिप्पणी गर्न मानेन।
प्रकाशित मिति: १२ माघ २०७३, बुधबार ०८:०९