नेपालगन्ज, १२ माघ
कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि वैशाखमा स्थानीय तहको निर्वाचन गर्नैपर्ने बाध्यता भएको बताएका छन् । निर्वाचन गर्न नसके संविधान धरापमा पर्ने उनको भनाइ छ ।
गणेशमान सिंहको मंगलबार नेपालगन्जमा सालिक अनावरणपछि आयोजित सभामा सभापति देउवाले संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन हुन जरुरी रहेको बताए । ‘संविधानअनुसार निर्वाचन हुनुपर्ने समय घर्किंदै गएको छ, वैशाखमा स्थानीय तहको निर्वाचन गर्न नसके अरू निर्वाचन गराउने सम्भावना कम हुँदै जान्छ,’ उनले भने, ‘निर्वाचन नगराउनु भनेको संविधानलाई धरापमा पार्नु हो ।’
देउवाले संविधान संशोधनमार्फत नेपाली जनताको माग पूरा गराउन कांग्रेसले भूमिका खेलेको बताए । उनले जनताको मागअनुसार संविधान संशोधन प्रस्ताव दर्ता गराउँदा केही दलले त्यसको गलत प्रचार गरेर जनतालाई लडाउने काम गरिरहेको आरोप लगाए । ‘जनतालाई लडाएर राष्ट्रियता कमजोर बनाउन खोजिँदै छ, राष्ट्रियता कमजोर बनाउने खेल खेल्नेलाई जनताले नै पाखा लगाउनेछन्,’ देउवाले भने ।
संविधान संशोधनमार्फत प्रदेशको सीमांकन हेरफेर भएमा जनताले संविधानको स्वामित्व ग्रहण गर्ने देउवाले बताए । पहाडियाका कुरा सबै राम्रा र मधेसीको सबै नराम्रा भन्ने मानसिकता चिर्नका लागि पनि संविधान संशोधन प्रस्ताव दर्ता गरिएको उनले स्पष्ट पारे । देउवा मंगलबार नै दाङको हेकुली गाविस–८ चखौरामा आयोजित माघी महोत्सवको उद्घाटन गर्न गएका छन् ।
सोही कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले राजनीतिक अस्थिरताका कारण देशमा विकास हुन नसकेको बताउँदै तीन दल मिल्नुको विकल्प नभएको बताए । उनले कृषिप्रधान देशमा हरित क्रान्ति ल्याउन पनि राजनीतिक अस्थिरताको अन्त्य हुनुपर्ने धारणा राखे । संविधान कार्यान्वयन भए मात्र देशमा राजनीतिक स्थिरता कायम हुने उनले बताए । ‘विकास हुन राजनीतिक स्थिरता चाहिन्छ, राजनीतिक स्थिरताका लागि संविधान कार्यान्वयन हुन जरुरी छ,’ उनले भने ।
सालिक बनाउन १९ लाख खर्च
सालिक निर्माण गर्न १८ लाख ६१ हजार खर्च भएको निर्माण समितिका अध्यक्षसमेत रहेका सांसद मैकुलाल वाल्मीकिले बताए । उनले संघीय मामिला तथा स्थानीय विकास तथा जनसहभागितामूलक कार्यक्रमअन्तर्गत १५ लाख रुपैयाँ नेपालगन्ज उपमहानगरपालिकालाई दिएको जानकारी दिए ।
उपमहानगरपालिकाले १० लाख ९५ हजार रुपैयाँमा स्व. सिंहको सालिक खरिद गरी समितिलाई दिएको अध्यक्ष वाल्मीकिले बताए । उपमहानगरपालिकाले चार लाख पाँच हजार रुपैयाँ रोक्का गरिराखेको छ । सालिक अनावरणका समयसम्म झन्डै चार लाख २५ हजार रुपैयाँ उधारोमा काम सम्पन्न गरेको समितिले जनाएको छ ।
प्रकाशित मिति: १२ माघ २०७३, बुधबार ०८:००