झापा, ११ माघ । मेचीनगरमा नेपाली काँग्रेसले आयोजना गरेको सात दिवसीय ‘प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव’ मुलुकमै नौलो प्रयोग भएको छ ।
राजनीतिक दलले स्वास्थ्य सेवाका क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्नु आफैँमा नौलो र उदाहरणीय कार्य भएको वरिष्ठ साहित्यकार प्रा डा अभि सुवेदी बताउछन् । ‘स्वस्थ समाजका लागि स्वस्थ साहित्य’ विषयको छलफलमा भाग लिन प्रा डा सुवेदी का
ठमाडौँबाट झापा आएका हुन् उनी दुई दिन महोत्सवमा रहे ।
महोत्सवमै भाग लिन आएका अर्का साहित्यकार खगेन्द्र सङ्ग्रौला पनि दलले आयोजना गरेको स्वास्थ्य महोत्सवलाई सामाजिक आन्दोलनको मौलिक प्रयोग भएको बताउछन् । “हामीकहाँ साहित्य, कला र सांस्कृतिक महोत्सव धेरै भएका छन्”, महोत्सव सन्देशमूलक भएको बताउँदै साहित्यकार सङ्ग्रौला भन्छन् – “यस किसिमको स्वास्थ्य महोत्सव नितान्त नयाँ र रमाइलो लाग्यो ।”
आयोजकले यही माघ ८ देखि १४ गतेसम्म सञ्चालन हुने स्वास्थ्य महोत्सवको सातै दिन विशेषज्ञ चिकित्सकको सेवासहित निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ । दिनैपिच्छे स्वास्थ्यसँग जोडिएका विषयमा आयोजना हुने छलफलले महोत्सवको आकर्षण थपेको छ ।
महोत्सवमा मुटु, मिर्गौला, कलेजो, मधुमेह, इएनटी, हाडजोर्नी, बालरोग, स्त्रीरोग, आँखा, नसा, फोक्सो, बुढ्यौली
जस्ता रोगको उपचार काठमाडौँ, पोखरा, विराटनगर, धरान, बिर्तामोड, भद्रपुर र काँकडभिट्टाबाट आएका विशेषज्ञहरुले गरिरहेका छन् ।
साहित्य, कलाजस्ता विषयमा मात्र आयोजना हुँदै आएको महोत्सवमा बेग्लै स्वास्थ्य महोत्सव आयोजना हुँदा विज्ञको स्वास्थ्यसम्बन्धी धारणा प्रत्यक्ष सुन्न र आफ्ना मनका जिज्ञासा पोख्नसमेत पाइएको मेचीनगर लेडी जेसिजका अध्यक्ष शोभा श्रेष्ठको अनुभव छ ।
मेचीनगर लेडी जेसिजले महोत्सवमा खाजाघरको कक्ष राखेर कोदो, फापर, चामलको रोटीसहितको मौलिक नेपाली परिकार बिक्री गरिरहेको छ । जेसिज आफैँले खाजाघरको कक्ष राखेर स्वस्थ र मौलिक परिकार बेच्दा त्यहाँ खाजा खान सर्वसाधारणको मात्र नभएर चिकित्सक, साहित्यकार, शिक्षकलगायतको घुइँचो लाग्ने गरेको छ ।
बालरोग विशेषज्ञ डा गणेश राई रोगीको उपचारभन्दा छलफलमार्फत स्वास्थ्यका विषयमा प्रवाह हुने चेतना अझ बढी महत्वको हुने बताउछन् । डा राईले महोत्सवमा दुई दिनसम्म बिरामी जाँचेर सेवा पुर्याएका छन् । “म आजसम्ममा धेरै स्वास्थ्य शिविरमा सहभागी भएको छु”, डा राई स्वास्थ्य महोत्सवको अनुभव सुनाउँदै भन्छन् – “तीभन्दा यो महोत्सव फरक प्रकृतिको पाएँ ।” महोत्सवमा दैनिक हजारौँको सहभागिताले सर्वसाधारण यस्ता गैरराजनीतिक कार्यक्रम रुचाउँदारहेछन् भन्ने देखाएको उनको धारणा छ ।
नेपाली काँग्रेसले आयोजना गरे तापनि महोत्सव सफल तुल्याउन स्थानीय नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपालगायत अन्य दलको सहयोगी भूमिका पाइएको छ । नेकपा (माओवादी केन्द्र)का मेचीनगर इन्चार्ज प्रकाश भण्डारी स्वास्थ्य महोत्सव अनुकरणीय कार्यक्रम भएको बताउँदै जनताका समस्यालाई प्रत्यक्ष सम्बोधन गर्ने कार्यमा राजनीतिक दलले भूमिका बढाउन यसले शिक्षा दिएको धारणा व्यक्त गर्छन् ।
महोत्सवमा बुढ्यौलीका कारण हुने रोगको उपचार गर्न ६० वर्षमाथि सय वर्ष नाघेका वृद्धवृद्धालाई ल्याइएको थियो । बाहुनडाँगी–२ बाट आएकी ९८ वर्षीया मैयादेवी थापाले दम बढेका कारण उपचार गर्न छोराबुहारीले ल्याएको बताइन् ।
महोत्सवमा आजसम्मको चार दिनमा छ हजार पाँच सयभन्दा बढी सर्वसाधारणले पुर्जी काटेर प्रत्यक्ष उपचार सेवा लिएको महोत्सव सचिवालय संयोजक पुष्पराज पौडेलले जानकारी दिए । दिनहुँ एक हजार छ सयभन्दा बढी मानिस उपचारका लागि आइरहेको र त्यसमध्ये आँखाको उपचार लिन आउनेको सङ्ख्या दैनिक औसत चार सय रहेको पौडेल बताउछन् ।
महोत्सवको छलफलमा स्वस्थ खाना, स्वस्थ बाली, लागुपदार्थको दुव्र्यसन, सुरक्षित सवारी, स्वास्थ्य बिमा, स्वस्थ राजनीतिजस्ता विषयमा विज्ञले आफ्ना अनुभव, अनभूति र सुझाव राखेका छन् ।
‘लागुऔषधमुक्त नेपाली समाजको निर्माण’ विषयको छलफलमा सम्भाषण दिएका नार्कोनन नेपालका अध्यक्ष वसन्तराज कुँवरले स्वास्थ्य महोत्सवको अवधारणाबाट आफू अत्यन्त प्रभावित भएको बताउँदे मेचीबाट सुरु भएको सो अभियानलाई महाकालीसम्म पुर्याउनुपर्ने सुझाव दिए ।
स्वास्थ्यसम्बन्धी बहसमा माघ १४ गते स्वास्थ्यमन्त्री गगनकुमार थापासमेत सहभागी हुने कार्यक्रम छ । माघ १३ गते नेता प्रदीप गिरी, पत्रकार रवीन्द्र मिश्र, मुमाराम खनाललगायतले छलफलमा भाग लिने कार्यक्रम रहेको महोत्सवको परिकल्पनाकार एवम् नेतृत्वकर्ता काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा बताउछन् ।
“प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा पुर्याउने र परोक्ष रुपमा स्वस्थ जीवन जिउन ज्ञान बाँड्ने हाम्रो उद्देश्य हो”, शर्मा भन्छन्– “आमजनताको स्वास्थ्यका विषयमा पनि अब राजनीतिक दलहरूले ध्यान केन्द्रित गर्नुपर्छ भन्ने सन्देश गइरहेको छ, यो हाम्रो मूल अपेक्षा पनि हो ।” रासस