चितवन ११ माघ । गैंडाको प्रमुख बासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्जमा एक सातापछि २० अर्ना चर्ने भएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कोसी टप्पु आरक्षमा मात्रै रहेको अर्नालाई अन्य संरक्षित क्षेत्रमा स्थानान्तरण गर्ने अभियानअन्तर्गत यही साता चितवनमा सार्न लागेको हो ।
अर्नाका लागि आवश्यक पर्ने बासस्थानको व्यवस्थापन गरी तयार पारिएको चितवनको पुरानो पदमपुर रहेमा कोसी टप्पुका गैंडा निकुञ्जका पाहुनाका रूपमा रहनेछन् । ३० हेक्टर क्षेत्रफलमा अर्नाका लागि वासस्थान, आहारा र पानीको व्यवस्थापन तयारी गरिसकेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।‘अर्नाका लागि आवश्यक पर्ने बासस्थानको व्यवस्थापन गरिसकेपछि सोमबार प्राविधिक टोली अर्ना लिन कोसी टप्पु गएको छ,’ उनले राजधानीसँग भने, ‘पहिलो चरणमा अर्नालाई ल्याइसकेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बाह्रसिङे ल्याउने तयारी भइरहेको छ ।’
अर्ना र बाह्रसिङे नियन्त्रणमा लिन, आवश्यक स्रोतसाधनको व्यवस्थापन, स्थलगत अध्ययन गर्नका लागि निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. कमल गैरेको नेतृत्वमा अन्य तीनजना वन्यजन्तु प्राविधिकको टोली कोसी टप्पु पुगेको छ । पशु चिकित्सक डा. गैरेका अनुसार सोमबारबाट आरक्षभित्र कहाँबाट के–कस्ता अर्ना लैजान सकिन्छ भन्ने विषयमा स्थलगत अध्ययन सुरु गरेको निकुञ्जका सूचना अधिकारी अर्यालले जानकारी दिए । कोसी टापु आरक्षको कमालपुर, पत्थरी, भागलपुरलगायतका क्षेत्रमा अध्ययन भइरहेको छ । अध्ययनपछि अर्को टोली अर्ना लिन सवारीसाधनका साथ त्यसतर्फ पुगिने उनले बताए ।
अर्ना ल्याउने एउटा ठूलो र दुईवटा सानोसहित तीनवटा खोर लिएर अर्को टोली पुग्ने कोसी टप्पु जाने तयारीमा रहेको सूचना अधिकारी अर्यालले बताए । यसअघि गैंडा स्थानान्तरणको समयमा प्रयोग भएको एउटा खोर र अहिले अर्नाका लागि बनाइएको दुईवटा खोर ट्रकमा राखेर अर्ना ल्याइने भएको छ ।
साना र वयस्क समूहका उमेरका अर्ना ल्याइने तयारी भएको बताउँदै उनले पहिलो चरणमा एउटा भाले र एउटा पोथी अर्ना ल्याउने तयारी गरिएको बताए । प्राविधिक टोलीले काम सम्पन्न गरिसकेपछि चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलको नेतृत्वमा सहायक संरक्षण अधिकृत, प्रकृति संरक्षण कोषका प्रतिनिधिलगायतको टोली अर्ना लिनका लागि आरक्ष जाने अर्यालले बताए ।
पुरानो पदमपुर क्षेत्रमा २ हजार मिटर जाली लगाएर ३० हेक्टर क्षेत्रफलमा खोर निर्माण गरिएको छ । भुइँमा सोलिङ गरेर जालीलाई पीसीसीले च्यापेर ६ फिट अग्लो खुला खोर (इन्क्लोजर) बनाइएको जानकारी दिँदै सूचना अधिकारी अर्यालले अर्ना राखिने वरिपरि सोलार फेन्सिङ गरेर अन्य जनावर खोरभित्र पस्न नसक्ने बनाएको बताए । खोरसम्म जानका लागि सौराहाबाट ६ किलोमिटर र कसराबाट २० किलोमिटर दूरी पार गर्नुपर्छ ।सो स्थानसम्म जाने बाटोसमेत मर्मत गरिएको छ । खोरनजिक रहेको मचानमा बसेर अर्नाको अनुगमन गरिने व्यवस्था मिलाएको बताइएको छ ।अर्नापछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट २५ वटा बाह्रसिङे ल्याइने बताउँदै अर्यालले आरक्षबाट पाँच भाले र १५ पोथी अर्ना ल्याइने बताए । सदर चिडियाखानामा रहेका दुई अर्ना पनि ल्याउने तयारी भएको उनले जानकारी दिए ।
सन् १९६० मा चितवन निकुञ्जमा अर्ना र बाह्रसिङे रहेको देखिए पनि त्यसपछि लोप भएका थिए । एकै ठाउँमा रहेका वन्यजन्तु अर्काे ठाउँमा स्थानान्तरण गर्दा महामारी रोगको प्रकोपबाट बचाउन सकिने भएकाले समय समयमा जनावर स्थानान्तरण गर्दै आएको बताउँदै अर्यालले गत वर्ष मात्रै चितवन राष्ट्रिय निकुञ्जबाट पाँचवटा गैँडा बर्दिया स्थानान्तरण गरिएको बताए ।हाल कोसी टप्पु वन्यजन्तु आरक्षमा अर्ना, शुक्लाफाँटा वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्जमा बाह्रसिङे छन् । कोसीटप्पु वन्यजन्तु आरक्षबाट अर्ना र शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट बाह्रसिङे ल्याइनेछ ।
कोसी र शुक्लाफाँटा आरक्ष र चितवन राष्ट्रिय निकुञ्ज दुवै तराईमा रहेको उपोष्ण हावापानी भएको, आहाल र पानीको रहेको, घाँसेमैदान भएकाले अर्ना र बाह्रसिङेका लागि चितवन उपयुक्त भएकाले ल्याउन लागिएको निकुञ्जले बताएको छ ।हाल नेपालमा कोसी टप्पु वन्यजन्तु आरक्षमा ४ सय १७ वटा अर्ना छन् । बाह्रसिङे शुक्लाफाँटामा २ हजार र बर्दिया राष्ट्रिय निकुञ्जमा ३ सयको हाराहारीमा छन् ।
चितवन निकुञ्जमा एकसिङे गैंडा, बाघ, हात्ती, जरायो, चित्त, लघुना, गौरीगाई, बँदेल, नीलगाईजस्ता जनावरका साथै २ सय ६५ प्रजातिका चरा, ६४ प्रजातिका स्तनधारी, एक सयभन्दा बढी प्रजातिका घस्रने रउभयचर पाइन्छन् ।
प्रकाशित मिति: ११ माघ २०७३, मंगलवार ०७:३५