चितवन, ९ माघ । चितवनको सदरमुकाम भरतपुरको मुटुमै रहेर पनि धार्मिक दृष्टिले महत्व बोकेको ऐतिहासिक धनगढा पार्क ओझेलमा छ । ऐतिहासिक दृष्टिले समेत महत्वपूर्ण, सुन्दर र शान्त वातावरण भएको धनगढा मन्दिरको उचित प्रचार नहुँदा ओझेलिएको हो ।
भरतपुर वडा नं १२ नौरङ्गेमा रहेको छ धनगढा मन्दिर । अहिले पनि विदाका बेलामा आन्तरिक पर्यटक आउँछन् भने अरु बेलामा समेत पर्यटक देखिन्छन् । धनेश्वर महादेवको मन्दिर समेत नजिकै निर्माण गरिएको छ । उन्नाइस कठ्ठा क्षेत्रफलमा फैलिएको यो मन्दिर र पार्क आफैंमा महत्वपूर्ण छ । किंवदन्तिअनुसार यहाँ धन गाडेको क्षेत्र भनेर चिन्ने गरिएकाले धनगढा मन्दिर भनिएको हो । ‘यहाँ धन छ’ भनेर मानिसहरुले खने खोस्रेको समेत फेला परेको स्थानीय अगुवा भविलाल घिमिरे बताउछन् । विसं २०३२ अघि यहाँ खाल्डो थियो, झाडीले घेरिएको थियो, बयरका काँडा थिए । एउटा धोद्रो जामुनको रुख थियो । बेल र पिपलको बोट थियो । मानिसहरुले फोहर यहीँ फाल्थे । अनि धन छ भनेर मानिसले खाल्डो खनेका थिए । खोतल्दा पुराना ईंट्टा भेटिन्थो । पछि खोतल्दै जाँदा बसाहा (साँढे) फेला परेपछि स्थानीयवासीले धार्मिक क्षेत्र हो भनेर संरक्षण थालेको धनगढा एकीकृत विकास समितिका अध्यक्ष ऋषिराम पौडेलले बताए ।
पाल्पाली राजा मणिमुकुन्द सेनको पालामा धनगढामा मन्दिर बनाइएको भन्ने भनाइ छ । भग्नावशेष खोतल्दै जाँदा मौलो भेटिएपछि स्थानीय बासिन्दाले धार्मिक क्षेत्रको रुपमा संरक्षण गर्न थालेका हुन् । शिवजीको बाहन बसाहा फेला परेपछि शिवालय बनाउने सोच आएको घिमिरे बताउछन् । विसं २०४३ सालमा स्थानीयवासी धार्मिक आस्था भएका कुल बहादुर भण्डारीले एउटा मन्दिर बनाए । उनले त्यो मन्दिर सानो भएको देखेर चार वर्ष अघि विशाल मन्दिर नै खडा गरेका छन् । यसले गर्दा यहाँका भक्तहरुलाई अहिले पूजा आराधनामा सहज भएको छ । सँगै २०४१ सालमा बनाइएको ज्योति पुस्तकालय छ । यहाँ १०८ शिवलिङ्ग छन् । अर्काे फराकिलो क्षेत्रको मनोरम दृश्यमा जो कोही लोभिन्छन् । बीचमा पोखरी छ । झण्डै काठमाडौँको रानीपोखरीको झल्को दिने गरी पोखरीको बीचभागमा लक्ष्मीनारायणको मन्दिर बनाइएको छ । मन्दिरमा जान रानीपोखरीमा झै पुल छ । हरेक पर्वहरुमा यहाँ भक्तहरुले पूजाआजा गर्छन् । सुन्दर पोखरीमा माछा पनि पालिएको छ । विसं २०६०–६२ तिर यहाँ गणेश धितालको अगुवाइमा मन्दिर सँगै पार्क बनाइएपछि यो क्षेत्रको मुहार नै परिवर्तन भएको छ ।
पार्कसमेत बनाइए पनि अहिलेसम्म यस ठाउँको महत्व बढ्न नसकेको स्थानीयवासी सूर्य अधिकारी बताउछन् । धनगढा एकीकृत विकास समितिले वरिपरि कम्पाउन्ड लगाएर आकर्षक बनाएको छ । खुला क्षेत्र र सिँढी, प्रतिक्षालय तथा बस्ने बेन्चहरुले आएका आन्तरिक पर्यटकहरुलाई बसेर मनोरञ्जन लिन सुविधा दिएको छ ।
नेपाली कल्याणपुरबाट धनगढा घुम्न अाएका खुसीले साह्रै आनन्दको अनुभूति गरेको प्रतिक्रिया दिए ।
उत्तरतर्फ हिमशृंखला, दक्षिणमा चुरे पर्वत तथा पूर्वमा महाभारत पर्वत देख्न सकिन्छ । धनगडा भरतपुर सदरमुकामको बीचमा भएकाले अन्य क्षेत्रलाई जोडेर एकीकृत पर्यटन विकास गर्न सकिने भएपनि अहिले पर्वहरुमा मात्रै मानिसको जमघट हुन्छ । अन्य बेलामा सोचे अनुसार पर्यटक आउँदैनन् । आएकाहरुमा पनि युगल जोडी बढी देखिन्छन् । यहाँबाट करिव ३-४ किलोमिटर पूर्वमा आकर्षक राइनो ताल छ । दक्षिणमा विश्व रामसार सूचीमा सूचीकृत बिस हजारी ताल छ । उत्तरमा गणेश मन्दिर छ ।
भावी गुरुयोजना नबनाइएको भएपनि यहाँ चाँडै चिल्ड्रेन पार्क बनाउने योजना रहेको समितिले जनाएको छ । यस्तै, यहाँ चार कठ्ठामा बनेको आकर्षक पोखरीमा डुँगा सञ्चालनको योजना समेत छ । यहाँ करिव रु ४० लाखको लागतमा विभिन्न भौतिक संरचना निर्माण भएका छन् । दिगो स्रोतको अभाव हुँदा कर्मचारी राखेर व्यवस्थापन गर्न नसकिएको अध्यक्ष पौडेल बताउछन् । रासस