एजेन्सी ८ माघ । अमेरिकाको ४५औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
ह्वाइटहाउसको क्यापिटोल भवनमा आयोजित विशेष समारोहमा अमेरिकी सर्वोच्च अदालतका प्रधान्यायाधीश जोन रोबर्टले ट्रम्पलाई शपथ खुवाएका हुन्।
ट्रम्प अहिलेसम्मकै पाका राष्ट्रपति हुन् । ट्रम्प गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा रिपब्लिकनका तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले डेमोक्र्याटिकका उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए ।
शपथअघि ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पले शुक्रबार ह्वाइटहाउसनजिकै रहेको सेन्ट जोन इपिस्कोपल चर्चमा प्रार्थन गरेका थिए । समुद्घाटनका दिन चर्चमा पाठ गर्ने अमेरिकी परम्परा छ । सन् १९३३ मा तत्कालीन राष्ट्रपति फ्र्यांकलिन डी रुजुभेल्टको समयदेखि चर्चमा जान थालिएको हो । यसअघि ट्रम्पले एक विवादास्पद पादरीबाट धर्मउपदेश लिएका थिए । पादरी रोबर्ट जेफ्रीबाट उनले प्रवचन लिएका हुन् । प्रवचनमा उनले ट्रम्पलाई भगवान्का रूपमा चित्रण गरेका थिए । जेफ्रीले मुसलमान, क्याथोलिक र समलिंगीविरुद्ध विवादास्पद धारण राख्दै आएका छन् ।
शपथअगाडि निवर्तमान राष्ट्रपतिको परिवारबाट नयाँ राष्ट्रपतिको परिवारमा शक्ति हस्तान्तरण भएको थियो । यसको व्यवस्था ह्वाइटहाउसका कर्मचारीले गरेका थिए । शक्ति हस्तान्तरण निकै आवेगात्मक हुने गर्छ । यो पक्रिया बिहानैदेखि सुरु हुन्छ । ‘मैले यसलाई पाँचघन्टे सुनामी र संगठित उथलपुथल भन्छु जसले राष्ट्रपति ओबामाको आवास ट्रम्पको आवासमा बदलिदिन्छ,’ प्रथम परिवारबीच सत्ता हस्तान्तरणको २१ वर्षदेखि साक्षी बनेका ह्वाइटहाउसका ग्यारी वाल्र्टसले भनेका छन् । साढे ९ बजे ओबामादम्पती ह्वाइटहाउसको ब्लुरुममा चिया कार्यक्रममा सहभागी भएका थिए । ओबामासँगै उपराष्ट्रपति र उनका पत्नीको पनि सहभागिता थियो । ह्वाइटहाउसका कर्मचारीले ओबामालाई बिदाइ गरी नयाँ राष्ट्रपतिलाई स्वागत गरेका थिए ।
ह्वाइटहाउसका कर्मचारीले स्टेट डाइनिङ रुममा भेला भएर फस्र्ट फेमलीलाई विशेष उपहार दिएर बिदाइ गरेका थिए । सो क्षण निकै नरमाइलो भएको ह्वाइटहाउसका कर्मचारीले बताएका छन् । तत्कालीन राष्टपति जर्ज डब्लु बुसको बिदाइमा कर्मचारीले आँसु झारेका थिए । ‘सेवानिवृत्त सैन्य अधिकारी भएकाले यसअघि म कहिल्यै रोइनँ, तर बुसको समारोहमा आँसु थाम्न सकिनँ,’ ह्वाइटहाउसका ग्यारी वाल्र्टस भन्छन् । ट्रम्पले छोए दुईवटा बाइबल : ट्रम्पलाई प्रधानन्यायाधीश जोन रबर्टले शपथ खुवाए । ट्रम्पले दुईवटा बाइबल छोएर शपथ खाएका थिए । एउटा बाइबल ट्रम्पले बाल्यकालदेखि नै सँगै राखेका छन् । अमेरिकाका १६औँ राष्ट्रपति अब्राहम लिंकनले शपथ लिँदा छोएको बाइबललाई पनि ट्रम्पले छोएका थिए । राष्ट्रपतिको शपथ अंग्रेजी ३५ शब्दको हुने गर्छ । ट्रम्पले पनि त्यही ३५ शब्द पढेर शपथ लिएका थिए । ‘म सुनिश्चितता गर्छु कि म अमेरिकी राष्ट्रपतिको कार्यभार इमानदारीपूर्वक सम्पन्न गर्नेछु र मेरो क्षमताले भ्याएसम्म अमेरिकाको संविधानको बचाउ, रक्षा र संरक्षण गर्नेछु,’ ट्रम्पले शपथमा भने । शपथसँगै रियल स्टेट मुगल तथा पूर्व रियालिटी सो स्टार ट्रम्प राज्य प्रमुख, कमान्डर इन चिफ र सरकारको प्रमुख कार्यकारी बनेका छन् ।
प्रकाशित मिति: ८ माघ २०७३, शनिबार ०७:३४