काठमाडौं, ८ माघ । परिवार–परिवारबीच मृगौला साटासाट गर्न पाउने व्यवस्थापछि प्रत्यारोपण गर्नेको संख्या बढ्न थालेको छ । त्यस्तो व्यवस्था नहुँदा भने थुप्रै बिरामी मिर्गौला नपाएर विगतमा डायलाइसिस गरेर बस्दै आएका थिए । अहिले त्यस्ता बिरामी प्रत्यारोपणमा जान थालेका छन् । यसैबीच सरकारले विभिन्न ३२ अस्पतालमा निःशुल्क डायलाइसिस सेवा विस्तार गरेको छ । तर, पछिल्लो समय बिरामीहरूले प्रत्यारोपण रोज्न थालेको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । ‘विगतमा डायलाइसिसको मात्रै व्यवस्था थियो ।
मानव अंग प्रत्यारोपण ऐन, ०७२ संशोधन भएपछि गत साउनबाट मिर्गौला साटासाट गरेर प्रत्यारोपण गर्ने बाटो खुल्यो । त्यसकारण डायलाइसिस गर्नेभन्दा प्रत्यारोपण गर्न चाहनेको संख्या बढेको हो,’ डा. श्रेष्ठले नयाँ पत्रिकासँग भने । परिवार–परिवारबीच साटासाट गर्न मिल्ने मिर्गौला दान गर्ने मानिसहरू नभेट्दा प्रत्यारोपणका लागि समस्या भएपछि केन्द्रले परिवार–परिवारबीच मिर्गौला साटासाट गर्ने वातावरण सिर्जना गरेको हो ।
डा. सुमित आचार्यले परिवार–परिवारबीच मिर्गौला साटासाट गर्नेको संख्या बढेको बताए । आचार्यले भने, ‘ब्लड ग्रुपका आधारमा मिर्गौला प्रत्यारोपण गर्ने हो । पहिला परिवारका सदस्यहरूबीच ब्लड ग्रुप मिल्नुपर्छ । त्यसपछि प्रत्यारोपण गरिन्छ ।’ केन्द्रमा अहिले पनि दुई परिवारले एकआपसमा मिर्गौला साटासाट गरेर उपचार गराइरहेका छन् । उदयपुरका २१ वर्षीय उज्वल दाहाल र धादिङकी २८ वर्षीय सुनिता पाण्डेले प्रत्यारोपण गराएका छन् ।
उज्वलले सुनिताकी आमा गीताकुमारी पाण्डेबाट मिर्गौला लिएका छन् । सुनिताले उज्वलकी आमा हीरामाया खड्काबाट मिर्गौला दान लिएकी हुन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य बनिसकेको छ । मिर्गौला दान दिनेहरूको स्वास्थ्य अवस्था पनि सामान्य भएकाले घर पठाउन लागिएको आचार्यले बताए ।
परिवार–परिवारका सदस्यबीच मिर्गौला साटासाट गरेको नेपालको सन्दर्भमा दोस्रो घटना भएको उनले बताए । यसअघि गत साउनमा काठमाडौंका खेमराज निरौलाको मिर्गौला फेल भएपछि इमाया थापाबाट लिएका थिए भने विष्णुबाबु श्रेष्ठलाई निरौलाकी श्रीमती मातृकादेवी चापागाईंले मिर्गौला दान दिएकी थिइन् ।
भारतमा भन्दा नेपालमा सस्तो नेपालमा मिर्गौला प्रत्यारोपण सुरु भएपछि भारतबाट समेत मानव अंग प्रत्यारोपण केन्द्रमा बिरामी आउन थालेका छन् ।
अहिले पनि केन्द्रमा भारतको अछामबाट प्रत्यारोपणका लागि बिरामी भर्ना भएका छन् । अस्पतालका अनुसार पुनः तीनजना प्रत्यारोपणका लागि आएका छन् । यसले नेपालको मिर्गौला प्रत्यारोपणको सेवा भारतमा भन्दा सस्तो, गुणस्तरीय, प्रभावकारी र विश्वसनीय रहेको देखाएको चिकित्सकहरूको भनाइ छ ।
मिर्गौला प्रत्यारोपणका लागि भारतको अछामबाट आएका ६५ वर्षका सुलतान दोर्जी अलीले भने, ‘भारतमा २० लाख रुपैयाँसम्म लिने गर्छन्, नेपालमा दुई लाख भारुमा उपचार हुने रहेछ ।’ भारतबाट मिर्गौला प्रत्यारोपणका लागि आएकी सोनिया सिंह पनि केन्द्रमा भर्ना भएकी छिन् ।
बिरामीको चाप बढेसँगै मानव अंग प्रत्यारोपण केन्द्रमा शैया, आइसियू कक्ष र अप्रेसन थिएटरको चरम अभाव भएको छ । मिर्गौला डायलाइसिस र प्रत्यारोपण गर्ने नेपाल र भारतका बिरामीले अस्पताल भरिभराउ भएपछि केन्द्र थप समस्यामा परेको कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए । उनले भने, ‘बिरामीको चाप दिनदिनै बढ्दो छ ।
तर, अस्पतालमा शैया अभाव हुँदा बिरामीको व्यवस्थापनमा समस्या देखिएको छ ।’ उनले स्थान अभावका कारण बाध्यवश बिरामीलाई वीर र शिक्षण अस्पताल महाराजगन्जमा रिफर गर्ने गरेको जानकारी दिए । ‘तर, केन्द्रबाट बिरामीहरू भने बाहिर जान मान्दैनन् । यसले पनि चुनौती थपेको छ,’ उनले अनुभव सुनाए ।
केन्द्रमा हाल सय शैया सञ्चालनमा रहेको छ । केन्द्रलाई तत्काल थप सय शैया आवश्यक छ । हाल चार शैयाको आइसियू रहेको केन्द्रमा तत्काल ६ शैया आवश्यक परेको छ । एक महिनाभित्र तीनवटा कलेजो प्रत्यारोपण गर्ने तयारीसहित केन्द्र अगाडि बढेको छ । कलेजोको प्रत्यारोपण जटिल र संवेदनशील भएका कारण छुट्टै सुविधासम्पन्न शैया आवश्यक पर्ने श्रेष्ठले बताए ।
एक महिनापछि तीनजनामा कलेजो प्रत्यारोपण गर्दा कम्तीमा पनि दश दिन मिर्गौलाको डायलाइसिस र प्रत्यारोपण पूर्ण रूपमा ठप्प गर्नुपर्ने अवस्था रहेको श्रेष्ठले बताए । निकट भविष्यमै फोक्सो र मुटुको प्रत्यारोपण गर्ने योजनामा रहेको केन्द्रलाई ठाउँ अभावको समस्या चुलिँदै गएको छ ।
प्रकाशित मिति: ८ माघ २०७३, शनिबार ०७:२९