नयाँ दिल्ली ७ माघ । नेपालमा रहेका पुराना भारतीय नोटहरू साट्ने विषयमा यसै साता दुई देशबीच भएको वार्ता फलदायी भएको भारतले जनाएको छ । तर नेपालमा रहेका पुराना ५ सय र १ हजारका भारु नोट कहिले र कसरी साटिने हुन् भन्ने यकिन भएको छैन ।
भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरूपले भारत भ्रमणमा आएका परराष्ट्रमन्त्री प्रकाशशरण महत र भारतीय अर्थमन्त्री अरुण जेट्लीबीच भएको वार्तामा समेत यो विषयमा छलफल भएको जानकारी दिए । महतले जेट्लीलाई समस्या सकेसम्म छिटो समाधान गर्न आग्रह गरेका थिए ।
गत जनवरी १२ मा नेपाल राष्ट्र बैंकको एक टोलीले भारतीय रिजर्भ बैंक तथा भारतीय विदेश मन्त्रालयका प्रतिनिधिहरूसँग वार्ता गरेको थियो । नेपाली टोलीले पुराना नोट साट्ने विषयमा तयार पारिएको मोडालिटी भारतलाई बुझाइसकेको छ । ‘नेपालको राष्ट्र बैंक भारतको रिजर्भ बैंकसँग सम्पर्कमा छ । गत जनवरीमा भएको दुईपक्षीय वार्ता उपलब्धिमूलक भएको छ,’ स्वरूपले भने । उनले नोट साट्ने विषयमा रिजर्भ बैंक नेपालको राष्ट्र बैंकसँग सम्पर्कमा रहने समेत जानकारी दिए ।
नोटबन्दीका कारण नेपालमा परेको असरलाई समाधान गर्ने विषयमा भारतले आफू सकारात्मक रहेको भने पनि अहिलेसम्म कुनै निष्कर्षमा पुगेको छैन । नेपालले उपलब्ध गराएको मोडालिटीमा भारतीय पक्षले केही संशोधन चाहेको छ । भारतको चासोलाई समेटेर भारतलाई बुझाउने र कूटनीतिक तहबाट समस्या समाधान गर्ने सहमति दुई देशबीचमा भएको छ ।
आवश्यक परे भारतीय अधिकारीले नेपालको भ्रमण गर्ने समझादारीसमेत भएको छ । भारतले मुख्यत: नेपालमा नोट साटिने व्यवस्था गर्दा कालोधन तथा अवैध किसिमले पैसा आर्जन गरेकाले दुरुपयोग गर्ने त होइनन् भन्ने चासो व्यक्त गरेको छ । नेपालले भने त्यस्तो हुन नदिने र सरकारी प्रणालीमा तथा नेपाली जनतासँग रहेको रकम साट्ने व्यवस्था गरिदिन आग्रह गरेको छ ।
नेपालले नोट साट्ने व्यवस्था गर्न ढिलो हुँदा नागरिकले कम रकममा पैसा साट्न लागेको भन्दै भारतलाई छिटो व्यवस्था गर्न आग्रह गरिरहेको छ । भारतमा भने पुराना नोटहरू साट्ने समयअवधि डिसेम्बर ३० मा नै सकिएको छ । नेपालले पुराना नोटहरू साट्न कम्तीमा १० दिन समय आवश्यक पर्ने उल्लेख गरेको छ । विशेषत: दुर्गम भेगमा रहेका नोटहरू साट्न कस्तो व्यवस्था हुन्छ भन्ने अन्योल कायमै छ ।
प्रकाशित मिति: ७ माघ २०७३, शुक्रबार ०७:१५