सुर्खेत, ६ माघ । एसओएस हर्मन माइनर मावि वीरेन्द्रनगर ३ कालागाउँमा कक्षा ९ मा अध्ययनरत छात्रा पुष्पा चौधरीको उपचारका लागि विद्यालयले एक लाख रुपैयाँ सहयोग गरेको छ । दुवै मिर्गाैला खराब भएर काठमाडौंमा उपचारमा रहेकी पुष्पालाई खर्च अभाव भएपछि उनी पढ्ने विद्यालयले सहयोग गरेको हो ।
विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक र एसओएस बालग्राम तथा एसओएस सामाजिक सेवा केन्द्रले एक मुष्ठ १ लाख २ हजार ८ सय ७० रुपैयाँ संकलन गरी सहयोग गरेको विद्यालयले जनाएको छ । विद्यालयका प्रिन्सिपल हिक्मतबहादुर वली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं एसओएस बालग्रामका निर्देशक मुकुन्दकुमार गिरीले छात्राका काका प्रेम चौधरीलाई बुधवार सो रकम प्रदान गरेका छन् ।
विद्यालयबाट ७५ हजार २ सय ७५ रुपैयाँ, एसओएस बालग्राम र एसओएस सामाजिक सेवा केन्द्रबाट २३ हजार ५ सय ९० रुपैयाँ, अभिभावक नमिता गिरीबाट ४ हजार ५ रुपैयाँ सहयोग प्राप्त भएको थियो । निर्देशक गिरीले दुःखमा परेकालाई सहयोग गर्नु मानवीय धर्म भएकोले थोरै रकम भएपनि आफ्नो छात्रालाई सवैले मिलेर सहयोगको गरिएको बताए ।
विद्यालयका प्रिन्सिपल वलीले आफ्नो छात्रा रकम अभावमा उपचार गर्न कठिनाइ भएकोले सम्पूर्ण विद्यार्थी, शिक्षक कर्मचारी, अभिभावकहरुबाट रकम संकलन गरी सहयोग प्रदान गरिएको बताए । उनले छात्रा चौधरीको उपचारका लागि विद्यालयले सहयोग अभियानसमेत संचालन गर्ने जानकारी उनले दिए । अभिभाभवक बालाराम शर्मा र नमिता गिरीले दुवै मिर्गौला खराब भइ उपचार गराइरहेकी बालिकालाई बचाउनका लागि सवैले सक्दो सहयोग गर्नुपर्ने सुझाव दिए ।
छात्रा पुष्पाका काका प्रेम चौधरीले काठमाडौंमा पुष्पाको उपचार भइरहेको र आर्थिक अवस्था ज्यादै दयनीय भएकोले पहिलो पटक यति धेरै आर्थिक सहयोग प्राप्त भएकोमा खुशी प्रकट गरे । गत असारदेखि गम्भीर विरामी भएपछि पुष्पालाई काठमाडांैमा उपचार गराउँदा दुवै मिर्गाैला खराब भएको पत्ता लागेको थियो । वीरेन्द्रनगर २० कोलडाँडा बस्ने पुष्पाको पारिवारिक अवस्था कमजोर छ । विद्यालयले बालिकाको नाममा खाता खोलेर सहयोग अभियान चलाउने जनाएको छ ।
प्रकाशित मिति: ६ माघ २०७३, बिहीबार १०:१८