काठमाडौँ ६ माघ । सरकारले निर्णय फेर्दा भूकम्पपीडितका लागि खरिद गरिएको ५० हजार बन्डल जस्तापाता साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममै थन्किएको छ ।
२०७२ वैशाखमा भूकम्प गएलगत्तै तत्कालीन सरकारको निर्णयबाट खरिद गरिएको जस्तापाता गोदाममै थन्किएको हो । भूकम्पलगत्तै सुशील कोइराला नेतृत्वको सरकारले अस्थायी आवासका लागि पीडितलाई जस्तापाता दिने निर्णय गरेको थियो ।
भूकम्पबाट क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि समय लाग्ने भएकोले तत्काल अस्थायी आवासका लागि भन्दै प्रत्येक भूकम्पपीडित परिवारलाई दुई बन्डल जस्ता वितरणको निर्णय गरिएको थियो ।
यस्तै, क्षतिग्रस्त विद्यालय र स्वास्थ्य चौकीको अस्थायी भवनका लागि जस्ता आवश्यक पर्ने भन्दै मन्त्रिपरिषदले निर्णय गरेर निर्देशन दिएको थियो । सरकारको निर्णयलगत्तै कर्पोरेसनले ५० हजार बन्डल जस्ता खरिद गरे पनि भूकम्पपीडितलाई जस्ताको सट्टा १५ हजार नगदै दिने सरकारले पछि निर्णय गरेको थियो ।
झण्डै ३० करोड रुपैयाँ खर्चेर खरिद गरिएका जस्तापाता डेढ बर्षदेखि गोदाममै थन्किएको कर्पोरेसनकी महाप्रवन्धक उर्मिला श्रेष्ठले जानकारी दिइन् ।
“सरकारले निर्णय गरेर खरिद गरे पनि त्यसको उपयोग गर्न नसक्दा गोदाममै थन्किएको छ, यसको उपयोगका लागि पटक–पटक सरकारलाई अनुरोध गयौं, तर कुनै पहल भएन,” उनले भनिन् ।
खरिद गरिएका अधिकांश जस्तापाता कर्पोरेसनको वीरगञ्जस्थित गोदाममा छन् । यसमध्ये केही बन्डल जस्तापाता केही जिल्लाका स्थानीय विकास अधिकारीले माग गरेपछि दिइएको कर्पोरेसनका अधिकारीहरूले जानकारी दिए ।
ती अधिकारीका अनुसार कर्पोरेसनले १० प्रतिशत व्याजमा ऋण लिएर किनेको जस्तापाता थन्किएको छ भने संस्थाले यसको ब्याजवापत मात्र चार करोड घाटा बेहोर्नुपरेको छ ।
जस्ता गोदाममै थन्किएर अलपत्र परेपछि कर्पोरेसनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, आपूर्ति मन्त्रालय, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय लगायतलाई पटक–पटक यसको उपयोग गर्न भन्दै पत्र लेखिसकेको छ ।
केही महिनाअघि सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि आवश्यक सामग्रीहरूको बैंक बनाउने बताएपछि कर्पोरेसनले काभ्रे, नुवाकोट र मकवानपुरमा यसका लागि गोदाम निर्माण गर्ने प्रक्रिया पनि अघि बढाएको थियो ।
नुुवाकोटमा नगरपालिकाको जग्गाका साथै काभ्रे र मकवानपुरमा कर्पोरेसनकै जग्गामा गोदाम बनाएर सामग्री वितरण गर्ने लक्ष्य राखे पनि प्रक्रिया नै अघि बढ्न सकेको छैन ।
प्रकाशित मिति: ६ माघ २०७३, बिहीबार ०७:३७