काठमाडौ ५ माघ । नेपाल टेलिकमले आगामी २२ गतेदेखि प्रिपेड मोवाइलमा पनि चौथो पुस्ता (फोरजी) सेवा सञ्चालनमा ल्याउने भएको छ । पुस १७ गतेदेखि काठमाडौं र पोखरा सीमित क्षेत्रमा सफ्ट लञ्च गरेको टेलिकमले वार्षिकोत्वसको अवसर पारेर प्रिपेडमा पनि फोरजी सेवा दिन लागेको हो । प्रिपेडमा पनि फोरजी सेवा दिनका लागि काम भइरहेको टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिए ।
व्यवस्थापिका–संसद्को विकास समिति बैठकमा राजभण्डारीले पोष्टपेडमा दिएको सेवा अब प्रिपेडमा दिने गरी काम अघि बढेको बताए ।
पुराना प्रविधि विस्थापन गरेर नयाँ प्रविधि जडानको काम भइरहेको बैठकलाई अवगत गराए ।
नेपाल टेलिकमले देशभरी १ हजार किलोमिटर लामो अप्टिकल फाइबर विस्तारको काम थाल्ने उनको भनाई छ । यस्तै टेलिकमले ७५ जिल्ला सदरमुकाममा तेस्रो पुस्ता (थ्रीजी) सेवा पनि पुर्याइसकेको जनाइएको छ ।
टेलिकमले सेवा विस्तारमा जोड दिएको बताउँदै दुर्गम क्षेत्रमा भौगोलिक कारणले गर्दा मोवाइल सेवा विस्तारमा ढिलाइ हुन गएको बताएको छ ।
प्रकाशित मिति: ५ माघ २०७३, बुधबार १७:४१