रोल्पा, ४ माघ । मिझिङ– रुइनिवाङ्ग– गुम्चाल– स्यूरी– हारजङ– गाम सडक निर्माण सम्पन्न भएपछि पूर्वी रोल्पाका बासिन्दाले खुसी व्यक्त गरेका छन् ।
पूर्वी रोल्पा हुँदै उत्तरी रोल्पा जोड्ने उक्त सडक निर्माणमा सरकार र एसियाली विकास बैंकले रु १८ करोड १३ लाख ८८ हजार बजेट विनियोजन गरेको थियो । सो सडक सञ्चालनमा आएपछि स्थानीयवासीले उत्पादन गरेको कृषि उपज सदरमुकाम लिवाङ र दाङसम्म निर्यात गर्न सहज भएको छ ।
“पटक- पटक सरकारी निकाय धाउँदा सडक निर्माण हुन सकेको थिएन,” बडाचौर– ३ का पूर्ण घर्तीले भने– “कच्ची नै भए पनि सडक निर्माण भएपछि हाम्रो दैनिकी बदलिएको छ ।”
स्थानीयवासी अमरबहादुर थापा वर्षाैँदेखिको सडक सपना अहिले आएर पूरा भएको बताउछन् । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले उक्त सडक निर्माणका लागि आव २०६७-६८ मा बजेट विनियोजन गरेका थिए । कुल ३६.८ किलोमिटर लामो उक्त सडकको चौडाई ३.७५ मिटर रहेको छ ।
ग्रामीण पुनःनिर्माण तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत एसियाली विकास बैंकको अनुदान सहयोग र सरकारको लगानीमा निर्माण भएको सो सडकको स्तरोन्नतीको काम छिट्टै सुरु हुने जिल्ला प्राविधिक कार्यलयले जनाएको छ । जिल्लामा रणनैतिक, जिल्ला सडक, ग्रामीण सडक, सहायक सञ्जाल गरी कुल ६६५ किलोमिटर सडक रहेको छ । करिब ३८ किलोमिटर मात्रै कालोपत्रे गरिएको छ भने ५२९ किलोमिटर माटे र कच्ची रहेको छ ।
स्थानीय विकास अधिकारी सुशील वैद्य जिल्लाको सडक सञ्जाल विस्तारमा जिल्ला विकास समितिले विशेष जोड दिएको बताउछन् । मिझिङ– रुइनिवाङ्ग– गुम्चाल– स्यूरी– हारजङ– गाम सडक उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले विकास निर्माणका कामले जनतालाई सेवा सुविधा मात्रै नदिएर बरु राज्यप्रति जनताको विश्वास समेत बढेर जाने बताए ।
सिरक्याङ भीर फोर्न नेपाली सेनालाई आग्रह
उपराष्ट्रपति पुनले सामरिक महत्वको सुलीचौर– थवाङसहिद मार्ग निर्माणको क्रममा सबैभन्दा जटिल मानिएको सिरक्याङ भीर फोर्न नेपाली सेनालाई आग्रह गरिएको बताए ।
सडक उद्घाटनको क्रममा यही आइतबार बडौचारमा आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले भने– “मैले प्रधान सेनापतिलाई भीर फोर्न आग्रह गरेको छु । उहाँले सेना परिचालन गर्ने बचन दिनुभएको छ ।” भीरमा सडक निर्माण भएपछि थवाङसँग काठमाडौँ जोडिनेछ ।
उनले जटिल मानिएका स्थानमा सेना परिचालन हुने जानकारी आफूले पाएको र चाँडै सकारात्म्क परिणाम आउने विश्वास व्यक्त गरे । उपराष्ट्रपति पुनले निर्माण सम्पन्न भएका सडकको स्तरोन्नती गर्न समेत आफूले सरकारको ध्यानाकर्षण गराएको बताए । रासस