पाल्पा, ४ माघ । प्रथम रामपुर महोत्सव तथा व्यापार मेलामा रु पाँच करोड ६५ लाख बराबरको कारोबार भएको छ ।
गत पुस २७ गतेदेखि सञ्चालन भएको मेलाको छैटौँ दिन सोमबारसम्म एक लाख दर्शकले मेला अवलोकन गरेका छन् । मेलामा अहिलेसम्म व्यापारिक कक्षबाट रु पाँच करोड २५ लाख, बाल उद्यान र होटेल तथा रेष्टुरेन्टबाट रु २०-२० लाख बराबरको आम्दानी भएको प्रचारप्रसार उपसमितिका सहसंयोजक छवि खनालले जानकारी दिए ।
मेला अवधिभर रु १० करोड बराबरको कारोबार तथा दुई लाख दर्शक भित्र्याउने लक्ष्य लिएको मूल आयोजक समितिका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताए । मेलामा २०० व्यापारिक कक्ष, २६ वटा होटल तथा रेष्टुरेन्ट, चारवटा अटोमोबाइल्स र एउटा फोटो प्रदर्शनी रहेको छ ।
सोमबारबाट प्यारामोटर र हेलिकप्टर उडान सेवा सुरु गरिएपछि दर्शकको आकर्षण बढेको छ । मेलामा अस्ट्रिज चरा, उँट, रोटेपिङ, चर्खेपिङ, झुला, मौतका कुवा, फुच्चे रेल, ड्रागन रेल, फोटो र भिडियो प्रदर्शनी रहेको छ । दिनहुँ राष्ट्रिय तथा स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुति, स्थानीय कला संस्कृतिले मेलाको रौनकता बढाएको छ । रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको मेला यही माघ ८ गतेसम्म चल्नेछ ।
तरकारी बेचेर एउटै याममा तीन लाख आम्दानी
मेहनत र साहस गरियो भने छोराछोरीको उच्च शिक्षाका लागि जागिर खानु नै पर्छ भन्ने नभएको रामपुरका टिकादेवी भट्टराईको कामले देखाएको छ । सात वर्ष अगाडि छोराले एसएलसीमा राम्रो नतिजा ल्याएर उत्र्तीण भएपछि उनलाई खुसीसँगै छोराको उच्च शिक्षाको चिन्ताले सतायो ।
परिवारमा कमाउने कोही नहुँदा उनलाई छोराको इन्जिनियरिङ पढ्ने चाहना कसरी पूरा गर्ने भन्ने ठूलो समस्या पर्यो । तरकारी खेती गरेरै भए पनि छोराको पढ्ने रहर पूरा गर्ने अठोट गरेर उनले व्यवसाय सुरु गरीन् ।
एक रोपनीबाट तरकारी खेती सुरु गरेका भट्टराईले मनग्य आम्दानी गर्न थालेपछि विस्तारै छ रोपनी जग्गामा तरकारी खेती विस्तार गरीन् । तरकारीको उत्पादन बढ्दै गएपछि त्यसैको आम्दानीबाट उहाँले छोरालाई इन्जिनियरिङ शिक्षा पढाउँदै हुनुहुन्छ ।
बेमौसमी तथा मौसमी तरकारी लगाएर उनले एउटै याममा रु दुई लाखदेखि रु तीन लाखसम्म आम्दानी गरिरहेकी छिन् । उनी भन्छन् – “छोराको पढ्ने इच्छा रोक्न पनि भएन, पढाउँ त कसरी भन्ने थियो”, “छोराको भविष्यकै लागि तरकारी लगाउन सुरु गरेर काठमाडौँमा उच्च शिक्षाका लागि पठाए ।”
चल सम्पत्ति केही नहुँदा पनि छोरालाई उच्च शिक्षा आर्जन गर्न सक्ने वातावरण तरकारी खेतीबाटै भएको भट्टराई बताउछिन् । उनी दैनिक ६० किलोदेखि ८० किलोसम्म तरकारी उत्पादन गरी बिक्री गर्छिन् । आर्थिक अभावमा सुरुमा जागिरका लागि धेरै ठाउँ भाैँतारिँदा कहीँ कतैबाट नमिलेपछि तरकारी खेती सुरु गरेकी भट्टराईलाई यतिबेला आम्दानीको बलियो र दिगो माध्यम तरकारी व्यवसाय बनेको छ । उनी अहिले गाउँघरका छिमेकी, अफन्तलाई जागिरको सट्टा कृषि व्यवसायमा लाग्न सल्लाह दिँदैआएकी छिन् । रासस