काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघलाई. यतिवेला महाधिवेशनको चटारोले छोपेको छ ।
पटक–पटक सर्दै पछिल्लो पटक माघ ७, ८ र ९ गतेको हेटौडामा हुने भनिएको संघको महाधिवेशनमा विधानका विषयमा चर्को विवाद भएको छ ।
संघको विधानमा संगठनको संरचना जिल्लागत रुपमा रहेको छ । तर अहिले सांस्कृतिक संघका अध्यक्ष तिर्थ थापाले विधानलाई मिच्दै विभिन्न आवद्ध संघ बनाउदै अधिवेशन गराउन लागेपछि विवाद सृजना भएको हो ।
हरेक तीन तीन वर्षमा महाधिवेशन हुनुपर्ने विधानमा व्यवस्था भएपनि अध्यक्ष थापाले १० वर्ष वितिसक्दा समेत अध्यक्ष पद नछोडेपछि अहिले कायम रहेको जिल्लागत संरचनामा रहेका संघका नेता कार्यकर्ता थापाको विरुद्धमा रहेपछि उनले विधान मिच्दै विभिन्न विद्यागत संघहरुलाई महाधिवेशनमा सहभागि गराउन लागेको बताइएको छ ।
‘विद्यागत संघहरुलाई महाधिवेशनमा सहभागि गराउनका लागि विधानमा व्यवस्था हुनुपर्ने हो अनि विधान पास गराउनका लागि महाधिवेशन वा विधान अधिवेशन हुनुपर्छ तर दुवै भएको छैन तर विद्यागत संघको अधिवेशन भटाभट भइरहेको छन्’ असंतुष्ट एक नेताले भने— ‘अहिले विधि र विधान विपरित विद्यागत संघलाई कसरी महाधिवेशनमा सहभागि गराइदो रहेछ हामी पनि हेर्छौ ।’ उनले सांस्कृतिक संघको विधान एकातिर तर अध्यक्ष थापाले आफ्ना सर्मथक बढाउनका लागि अधिवेशन अर्कौ तिर गर्दै हिडेको आरोप लगाए ।
हालै चितवनमा सम्पन्न भएको केन्द्रीय समितिको बैठकमा समेत अध्यक्ष थापाले पेश गरेको विधानको मस्यौदा पास हुन नसकेपछि नेपाली कांग्रेसको केन्द्रीय समितिले विधानका बारेमा निर्णय गरिदिन्छ भन्दै थापाले केन्द्रीय समिति सम्पन्न गरेका थिए ।
नेपाली कांग्रेसको विधानमा भने पार्टीका भ्रातृसंस्थाको विधानलाई मात्र पास गर्न मिल्ने व्यवस्था छ । तर शुभेच्छुक संस्था भनेको स्वतन्त्र हुने भएकाले विधान तथा अन्य कुनै पनि प्रक्रियामा हस्तक्षेप गर्न नसक्ने वैधानिक व्यवस्था छ ।
संघको महाधिवेशनको मिति आउनका लागि अब एकसाता पनि बाँकी नहुँदा अहिलेसम्म झण्डै ६० जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ।
२०६६ सालमा पहिलो महाधिवेशन हुँदा संघको महाधिवेशनमा ५९ जिल्लाको सहभागिता थियो, तर अहिलेको महाधिवेशनमा ७५ जिल्लाकै प्रतिनिधिको सहभागिता हुने बताइएको छ । संघको महाधिबेशनमा करिब एक हजार प्रतिनिधिको सहभागिता हुने आयोजकले जनाएको छ ।
संघको महाधिवेशन २०६६ साल यता हुन सकेको छैन । पछिल्लो एकवर्षमा चार पटक मिति तोकेर पनि महाधिवेशन गराउन अध्यक्ष थापा असफल भएपछि बर्तमान कार्यसमिति अवैद्य भएको भन्दै महाधिवेशन आयोजक समिति बनाउनुपर्ने माग समेत संघमा उठ्न लागेको स्रोतको भनाई रहेको थियो । तर पार्टीको विधान अनुसार शुभेच्छुक संस्थामा हस्तक्षेप गर्न नमिल्ने भएकाले तर्दथ समिति बन्न नसकेको जानकारहरुले बताएका छन् ।
प्रकाशित मिति: २ माघ २०७३, आईतवार १२:१७